घर कहिले बनाउने ? यसबारेमा धेरैको आ-आफ्नो घारणा छ । नेपालमा भूगोलअनुसार विभिन्न मौसममा घर बनाउने प्रचलन छ । तर, सामान्यतया नेपालीहरू वर्षाको समयपछि घर बनाउँछन् । यही कारण दसैँपछि निर्माण सामग्रीको मूल्य पनि केही बढ्ने गर्छ ।
त्यसो भए के बर्खामा घर नबनाउने चलन वैज्ञानिक छ त ?
यस प्रश्नको उत्तरका लागि हामी सयौँ वर्षपछाडि जानुपर्छ । नेपाल पहिल्यैदेखि कृषिप्रधान देश हो । कृषि पेशा अपनाउने भएकाले नेपालीहरू बर्खाको समयमा खेतबारीमै बढी व्यस्त हुन्थे । जसका कारण खेती किसानीबाट फुर्सत पाएको समयमा मात्र घर बनाउने गर्थे ।
वर्षायाम खेती गर्ने मुख्य समय भएकाले धेरै पहिलेदेखि नै असार-साउनमा घर नबनाउने प्रचलन रहेको इन्जिनियर तथा मेरो घर डटकमका संस्थापक विपिन गैरे बताउँछन् ।
‘बर्खामा धान रोप्न पानीको भर पर्नु पर्थ्यो । सबै मान्छे खेतीमै व्यस्त हुन्थे । पहिलेको परम्परा जान–अन्जानमा अहिलेसम्म चलेको हो । बर्खामा घर नबनाउने भन्ने हुँदैन,’ उनले भने । बर्खामा घर बनाउँदा झन् बलियो हुने गैरे बताउँछन् ।
‘बर्खामा घर बनाउँदा संरचनाले धेरै पानी पाउछ र घर बलियो हुन्छ । तर, यसो भन्दैमा मुसलधारे पानी पर्दापर्दै घर बनाउने भन्न खोजेको भने होइन,’ उनले भने ।
गैरेका अनुसार वर्षातमा घर नबनाउनुको अर्को कारण पनि छ । घर बनाउन कंक्रिटको प्रयोग हुनुभन्दा पहिले माटोको घर बनाइन्थ्यो । बर्खामा माटोको घर बनाउदा पानीले बगाएर संरचना बिग्रने भएकाले पनि त्यो बेलादेखि यो समयमा घर नबनाउने चलन चलेको हो ।
अहिले आरसीसी घर बन्न थालेकाले यो मौसममा घर बनाउँदा समस्या नहुने उनको भनाइ छ । अहिले बर्खामा घर बनाउने चलन बढ्दै गए पनि कामदारको अभाव हुने गरेको गैरे बताउँछन् ।
‘अहिले पनि खेती गर्ने र घर बनाउने जनशक्ती करिब–करिब एउटै हो । आफ्नो खेती नभएका मजदुर पनि ज्याला धेरै पाउने भएकाले उतै मजदुरी गर्छन् । त्यसकारण यो मौसममा शहरमा मजदुरको अभाव हुन्छ,’ उनले भने ।
धेरै चिसो र धेरै तातो ठाउँमा कंक्रिटको घर बनाउँदा इन्जिनयर वा प्रविधिकको सहयोग लिइयो भने कुनै समस्या नपर्ने गैरे बताउँछन् ।
कमर्सियल सिमेन्ट ‘एभरेज’ तापक्रममा प्रयोग गर्न बनाइएको हुनाले धेरै चिसोमा कंक्रिट सेट नहुने र गर्मीमा चर्कने सम्भावना हुने उनको भनाइ छ । यसको पनि समाधान रहेको गैरेले जानकारी दिए ।
‘सामान्यतया नेपालमा त्यस्तो समस्या आउँदैन । तर, सहि स्ट्रेन्थको घर बनाउछु भन्ने लाग्यो भने इन्जिनियर वा प्राविधिकको सहयोग लिएर सिमेन्ट, बालुवा र पानीको घोलमा ‘एडमिक्सचर’ प्रयोग गरेर सजिलै बलियो घर बनाउन सकिन्छ,’ गैरेले भने ‘एडमिक्सचर धेरै प्रकारको हुन्छ । प्रविधिकले चाहिएको कंक्रिटको ग्रेडअनुसार एडमिक्सचरको मात्रा प्रयोग गर्छ ।’
एडमिक्सचरले चिसो मौसममा कंक्रिटलाई हिट प्रदान गर्छ भने गर्मीमा कंक्रिट बन्ने प्रकृया (हाइड्रेसन) मा हिट धेरै उत्पादन हुनबाट रोक्छ । जसका कारण संरचनालाई चाहिने ग्रेडको कंक्रिट बन्ने उनी बताउँछन् ।
हाइड्रोपावर, पुल जस्ता ठुला निर्माण कार्य गर्न एडमिक्सचर प्रयोग हुने गरेको भए पनि सामान्य घरमा यसको खासै प्रयोग नहुने गैरेले जानकारी दिए । -शिलापत्रबाट साभार