सुर्खेत । वीरेन्द्रनगर नगरपालिका –१० को ईत्राम खोला क्षेत्रमा बस्ती जोखिममा पारेर नदी दोहन भैरहेको पाइएको छ । नगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्ष रत्नबहादुर बुढाको निर्देशनमा मध्य वर्षाको समयमा ईत्राम खोला अबैध दोहन भएको पाइएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ र १२ को सीमामा मुहान भएर वडा नम्बर ८,९ र १० का बस्तीबीचबाट बग्ने ईत्राम खोला राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्र्तगतको खोला हो ।
सोही खोला अन्र्तगतको बुलबुले उद्यान नजिकैको क्षेत्रमा रहेको बस्ती जोखिममा पारेर डोजर प्रयोग गरि ग्रावेल (गिटी) उत्खनन् भैरहेको छ । यद्यपी जेठ मसान्तदेखि खोल–नाला उत्खनन्का लागि पूर्ण निषेध गरिने कानुनी व्यवस्था छ भने चुरे संरक्षण क्षेत्रमा बाह्रै महिनाका लागि नदी उत्खनन् गर्न पूर्ण रुपमा निषेध गरिएको छ । जसको कारण सोही क्षेत्रमा भैरहेको नदी उत्खनन् कार्य अवैध मानिएको हो ।
उक्त अवैध नदी उत्खनन् कार्यमा विहिबार (असार १७ गते) सम्राट ट्रेडर्स एण्ड सप्लायर्स सुर्खेत लेखिएको ०११२ (लट नम्बर नबुझिएको) जेसिबी, बा ५ ख ४८१२ नम्बरको टिप्पर र भे १ त ९४८७ नम्बरको ट्याक्टरले ग्रावेल (गिटि) ओसार–पसार गरिरहेका हुन् । ती जेसीवी, ट्याक्टर र टिप्परले विगतदेखि दैनिक ओसार–पसार गर्ने गरेको स्थानीयले जानकारी दिए ।
‘दिन–दिनै बोकिरहेका छन् । घर जोखिममा प¥यो भनेर हामीले रोक्न खोज्दा उल्टै धम्की दिन्छन् । कतिबेला घर जोगाउन खोजेको भनेर फकाउछन् ।’ एक स्थानीय महिलाले भनिन्, ‘वडाअध्यक्षले पनि ग्रावेल लिन रोक्यौं भने नगरपालिकाको सेवा सुविधा रोक्छौं भनेर धम्की पनि दिएका छन् ।’
उक्त क्षेत्रमा घर–टहरा धेरै छन् भने सोही खोलामा २०७१ सालमा आएको भीषण बाढीले धनजनको क्षती पु¥याएको थियो ।
वडाअध्यक्ष बुढाले नदी उत्खनन्का लागि आफुले नै निर्देशन दिएको स्वीकार गरेका छन् । ‘तटबन्ध गर्दा थुप्रिएको गिटि, बालुवा निकासी गर्न नगरपालिकाले सिफारिस दिएबमोजिम निर्देशन गरिएको हो ।’ वडाअध्यक्ष बुढाले भने । यद्यपी वडाअध्यक्ष बुढाले भनेअनुसार उक्त ईत्राम खोला क्षेत्रमा थुप्रिएको गिटि बालुवा नभै खोलामा खाल्डा पारेर नदी उत्खनन् भैरहेको छ ।