अछाम । अछामको चौरपाटी गाउँपालिकाले आज कोदो दिवस मनाएकाे छ । गाउँपालिकामा सबैभन्दा बढी कोदोको उत्पादन हुने भएकाले कोदो दिवस मनाइएकाे हाे ।
‘फलेको कोदो, कुटेको धान’ भन्ने नाराका साथ कोदो दिवस मनाउन लागिएको हो । कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्न यो दिवस मनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।
कोदोलाई अवमूल्यन तथा हेयको दृष्टिले हेर्ने गरेकाले संरक्षण र बाली उत्पादन वृद्धिका लागि कोदो दिवस मनाउन लागिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले बताए । ‘कोदो बहुउपयोगी रैथाने बाली हो,’ उनले भने, ‘यसलाई अहिले गाउँमा हेयका दृष्टिले हेर्न थालिएकाले संरक्षणका लागि कोदो दिवस मनाउन लागिएको हो ।’
गाउँपालिकामा सबैभन्दा बढी कोदो फल्ने गरेको तर, हेयका कारण लोप हुन लागेकाले यो दिवस मनाउन लागि अध्यक्ष साउँदले बताए । ‘यो कम मेहेनतमा नै बढी लाभ लिन सकिन्छ,’ उनले भने, ‘किसानहरूको रोजाइमा कोदो बाली कम पर्न गएकाले यसको संरक्षणका लागि यो दिवस मनाउन लागिएको हो ।’