सुर्खेत । जाजरकोटमा करेन्ट लागेर एक गर्भवतीको मृत्यु भएको छ। विद्युतीय तारमा कपडा सुकाउन खोज्दा नलगाड नगरपालिका–१०, रग्दाकी २३ वर्षीया रमिता धारको मृत्यु भएको हो।
शनिबार करेन्ट लागेको उनको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। करेन्ट लागेर घाइते भएकी उनलाई स्थानीयले रुकुमपश्चिमको आठबीसकोट नगर अस्पतालमा उपचारका लागि पुर्याएका थिए। तर, उपचारकै क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको हाे ।
विद्युत्को तारमा करेन्ट हुन्छ भन्ने थाहा नपाएका कारण उनी तारमा कपडा सुकाउन पुगेकी थिइन्।
करेन्ट लागेर कराएपछि उनलाई बचाउन पुगेका २५ वर्षीया प्रमिला ध्यार र ६५ वर्षीया बेलु ध्यार घाइते भएका थिए। उनीहरू नगर अस्पतालमा उपचारपछि आइतबार बिहान मात्रै डिस्चार्ज भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।