सल्यान । जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय झन्डै १० वर्षपछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन् । नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन् ।
लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् । कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् ।
जंगलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्तीनजिक बस्न थालेका छन् । जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन् ।
राउटेहरु विशेषगरी आफैँले बनाएका काठका भाँडाकुडा प्रयोग गर्ने गर्दछन् । उनीहरुको बिहेवारीलगायत सबै सामाजिक व्यवहार आफ्नै समुदायभित्र नै हुने गर्दछ ।