काठमाडौँ । वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी प्रकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छानबिन थालेको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको थियो । घटनाबारे लामो समयसम्म जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि मन्त्रालयले टोली नै पठाएर छानबिन सुरु गरेको समाचार कान्तिपुरमा समाचार प्रकाशित छ ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङका अनुसार गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम थिएन ।
पञ्चकन्यामा प्रशासकीय अधिकृत नरेश पुडासैनी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । उनले कहिल्यै सरुवा नमागेको मन्त्रालय स्रोतको दाबी छ । घटनाका विषयमा उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि मन्त्रालयले थप छानबिन थालेको हो ।
दराजमा कुनै पनि क्षति नपुर्याई रकम गायब भएकाले कार्यालयको सबै सूचना थाहा पाउने व्यक्तिले चोरेको शंका छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन गरेको छ । घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले घटना छानबिनका क्रममा जनप्रतिनिधि र कर्मचारीको निगरानी गरिरहेको छ ।
यसैबीच घटनालगत्तै गाउँपालिकाको उजुरीपछि पक्राउ परेका वडा सचिव रावत, करारका सहायक सचिव रामकुमार गिरी र कार्यालय सहायक नीलप्रसाद मिश्र रिहा भएका छन् । उनीहरूविरुद्ध मुद्दा चलाए पनि प्रमाणित हुन नसकेपछि जिल्ला अदालत नुवाकोटले उनीहरूलाई धरौटीमा छाडेको हो । गिरी र मिश्र स्थानीय हुन् भने सचिव रावत एक वर्षअघि लोकसेवा उत्तीर्ण गरेर पोस्टिङ भएकी हुन् । पैसा राखेको दराजको साँचो उक्त दिन गिरीले सचिव रावतलाई दिएका थिए । उनले एउटा साँचो आफूसँग रहेको भन्दै अर्को सचिवलाई दिएका थिए ।
त्यसअघि साँचो सचिवले राखेकी थिइनन् । त्यो दिन भने आफू आउन ढिलो भयो भने भत्ता बाँड्दै गर्नू भन्दै सचिवलाई साँचो दिएका थिए । भर्खर नियुक्ति भएर गएको र कार्यकाल सम्हालेको एक वर्षमा बाहिरी जिल्लाको कर्मचारीले यति ठूलो रकम हिनामिना गर्ने हिम्मत गर्न नसक्ने बुझाइ मन्त्रालयको छ । अहिले गाउँपालिकाले उनीहरूलाई काममा लगाएको छैन । मन्त्रालयले भने हाजिर गराउन भनेको छ । (कान्तिपुरबाट साभार)