कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री बन्नु भएका यज्ञबहादुर बुढाक्षेत्री समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । २०११ सालमा जन्मनु भएका बुढाक्षेत्रीले केही समय शिक्षण पेशा अंगाल्नु भयो । पूर्व प्रधानपञ्च, पूर्व गाविस अध्यक्षसमेत भइसक्ुन भएका बुढाक्षेत्री सुर्खेतको क्षेत्र नं. २ (ख)बाट प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
उहाँले २०२९ सालदेखि २०४३ सालसम्म शिक्षण पेशा अंगाल्नु भयो । २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलीय व्यवस्थालाई समर्थन गर्नुभएका उहाँलाई तत्कालीत राज्यसत्ताले धेरै दुःख दियो । उहाँ शिक्षण पेशा छोडेर २०४३ सालमा पोखरीकाँडा पञ्चायतको प्रधानपञ्च बन्नुभयो ।
२०४६ सालको जनआन्दोलनपछि उहाँ नेपाली कांग्रेस तत्कालीन १० नम्वर इलाकाको सभापति हुनुभयो । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उहाँ पोखरीकाँडा गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । २०५२ सालदेखि २०७२ सालसम्म पार्टीको क्षेत्रीय सभापति बन्नु भएका बुढाक्षेत्री २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरीकाँडा गाविस–४ को वडाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो ।
उहाँ २०५४ सालमा जिल्ला विकास समितिको सभापतिको उम्मेदवार हुनुभयो । २०११ सालमा जन्मनु भएका बुढाक्षेत्रीले २०६२–०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुका साथै प्रदेश प्राप्तीको आन्दोलनको पनि नेतृत्व गर्नुभयो । २०७२ सालमा भएको पार्टीको १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्नु भएका उहाँ तीन मतको झिनो अन्तरले पराजित हुनु भएको थियो ।
विभिन्न समयमा स्थानीय निकायको नेतृत्व गर्दा उहाँले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो । दूरदराजका गाउँमा विद्यालय स्थापना, सञ्चालनमा उहाँको भूमिका महत्वपूर्ण छ । ‘शिक्षानै विकासको मुल आधार हो,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले मेरो जोड सधैं शिक्षाको विकासमा रहँदै आयो ।’ सामाजिक विकास मन्त्रालयको नेतृत्वसँगै उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद र युवा सहभागीतालाई प्राथमिकता दिने बताउनु भएको छ ।