सुर्खेत । कोरोना(कोभिड–१९) संकट व्यवस्थापन केन्द्र सुर्खेलको बैठकले कोरोना संक्रमणका कारणले विपन्न तथा असाहय र आफन्तजन नभएका परिवारका सदस्यको मृत्यु भएमा निःशुल्क शव व्यवस्थापन गर्ने भएको छ । बैठकमा जिल्लामा कोभिड–१९ को संक्रमण भई मृत्यु भएको अति विपन्न वा असहाय व्यक्तिको परिवार वा आफन्तजन नभएको वा आफन्तजन भएपनि चिता बनाउन सक्ने अवस्था नभएको खण्डमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले शवदाहको लागि आवश्यक सबै सामान व्यवस्था मिलाउने निर्णय गरेको हो ।
कोरोना संक्रमण कारणले मृत्यु भएमा अति विपन्न वा असहाय व्यक्तिको परिवार वा आफन्तजन नभएको वा आफन्तजन भएपनि चिता बनाउन सक्ने अवस्था नभएका परिवा रपर्ने दाउरा तथा सोको ढुवानीको व्यवस्थालगाएतका व्यवस्था मिलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला रोमबहादुर महतले जानकारी दिए ।
‘शवदाहको लागि आवश्यक पर्ने दाउरा वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वय गरी व्यवस्था गर्ने । शवलाई घाटसम्म लैजानका लागि उद्योग बाणिज्य संघ सुर्खेत वा वीरेन्द्रनगर नगरपालिकाको शववाहन प्रयोग गर्ने निर्णय भएको छ ।’ उनले भने,‘यसका लागि कर्णाली प्रदेश अस्पतालले जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, नेपाली सेना, वीरेन्द्रनगर नगरपालिका र वीरेन्द्रनगर औधोगिक क्षेत्र व्यवस्थापन कार्यालय, सुर्खेतसँग समन्वयमा यी काम हुनेछन् ।’
त्यस्तै, जिल्लामा कोभिड–१९ को संक्रमण फैलिई दैनिक रुपमा विरामीहरुको मृत्यु भईरहेको सन्दर्भमा शव व्यवस्थापनको लागि जिल्लास्थित भेरी नदीको पुल नजिकको किनारमा रहेको शवघाटमा आवश्यक पर्ने दाउरा सहुलियत दरमा उपलब्ध गराउनको लागि सो क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समितिसँग आवश्यक समन्वय गरिदिनका लागि डिभिजन वन कार्यालय, कर्णाली प्रदेश, सुर्खेतलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।