सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ ।
शिक्षासम्बन्धी ऐन संशोधन गर्न बनेको ऐन–२०७७ (तेस्रो संशोधन) अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन–२०६७ संशोधन गरी नाम परिवर्तन गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सम्बन्धित विश्वविद्यालयसँग सामान्य समन्वय र परामर्शबिनै नाम परिवर्तन गरिँदा आश्चर्य लागेको बताए ।
उपकुलपति सिंहका अनुसार विश्वविद्यालयको नाम परिवर्तन गर्नै पर्दा कान्जिरोवा विश्वविद्यालय, रारा विश्वविद्याय वा कर्णाली विश्वविद्यालय राख्नेबारे सोच बनेको थियो । त्यो पनि विश्वविद्यालय सभा, यहाँको नागरिक समाज र सरोकारवालासँग छलफल गरेरमात्र नाम परिवर्तन गर्ने योजना बनाइएको उनले बताए ।
विश्वविद्यालयको नाम परिवर्तन गरिए पनि आर्थिक मितव्ययिता कायम गर्नको लागि केही समयसम्म साविककै नाम भएका लेटरप्याड, लोगो, झण्डा, उत्तरपुस्तिका र डिजिटल पोर्पटीहरु प्रयोग गरिने विश्वविद्यालयले जनाएको छ । यसले गर्दा आधिकारितामाथि कुनै असर नपर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।