सुर्खेत । नेकपा एमालेले कारबाही गरेको झण्डै दुई हप्तापछि एमालेका नेता प्रकाश ज्वालाले तीनपन्ने स्पष्टीकरणसहितको अपिल सार्वजनिक गरेका छन् । अपीलमा उनले मन्त्रीबाट राजीनामा दिएपछि पार्टी एकताबद्ध गर्न निकै कोसिस गरे पनि केही व्यक्तिको दम्भले कर्णालीमा पार्टी एकतावद्ध हुन नसकेको दावी गरेका छन् ।
ज्वालाले पार्टी नेतृत्वबाट सरकार गठन, सञ्चालन एवं पार्टी सञ्चालनमा विषयमा समेत संसदीय दलनका नेतासमेत रहेका यमलाल कँडेलले आफुहरु जस्तो जिम्मेवार कमरेडसँग कुनै समन्वय, परामर्श र छलफलसमेत नगरेर एकलौटी गुटगत ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
अपीलमा भनिएको छ, ‘संसदीय दल र पार्टीलाई कम्युनिस्ट पद्धतिमा नभई गुटगत एकलौटी रुपमा चलाउने काम भयो । पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेको म स्वयंलाई जानकारी नै नदिएर प्रदेश कमिटीमा एकलौटे रुपमा इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष, सचिव मनोनित गरियो । जिम्मेवार व्यक्तिलाई बिना कारण जिम्मेवारी विहीन बनाइयो ।’
पार्टीका नाममा गरिएका कुनै पनि भेला, बैठकमा आफुहरुलाई पूर्ण रुपमा निषेध गरिएको र यसरी गुटगत अत्याचारले सीमा नाघेपछि सत्य र निष्ठाका लागि भए पनि ‘फ्लोर क्रस’ गरिएको उनको भनाइ छ । उनले ‘फ्लोर क्रस’ नभइ पार्टी निर्णयअनुसार बनेको सरकारका पक्षमा मतदान गरेको स्पष्ट पारेका छन् । ‘यो पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय नभइ राजनीतिक निर्णय हो,’ उनले भनेका छन् ।
ज्वालाले प्रदेश सरकार गठनदेखि नै कँडेल समूहले कहिल्यै सहयोग नगरेको दावी गरेका छन् । ‘जहिले पनि असहयोग र विरोध गरेर काम गर्न नदिने, सरकारलाई हटाउन हस्ताक्षर अभियानदेखि नीति, कार्यक्रम, बजेट पास हुन नदिन पटक–पटक असफल प्रयास भए,’ उनले तीनपन्ने अपीलमा भनेका छन् ।
उनले २८ फागुनमा बसेको एमाले संसदीय दलको बैठकलाई गुटगत बैठक संज्ञा दिएका छन् । गुटगत बैठकका निर्णय एमालेका नेता कार्यकर्तालाई स्वीकार्य नभएकाले कर्णालीको समस्याको मुल जड पनि यही भएको ज्वालाको भनाइ छ ।
कर्णालीमा संसदीय दलको नेता ०७५ जेठ अगाडिकै कायम हुने तर, पार्टी नेतृत्व फागुन २८ गतेको निर्णय अनुसार हुनुपर्नेमा दोहोरो मापदण्ड अपनाइयो,’ उनले भनेका छन्, ‘पार्टी भित्रका समस्या समाधन, पार्टी एकतालाई सुदृढ गर्न मन्त्री पदसमेत त्यागेर हामी छलफलमा आएका थियौँ तर, समस्या बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्नु स्वाभाविक थियो ।’
आफूमाथि आर्थिक प्रलोभनका आरोप लगाइएको जिकिर गर्दै उनले तिनलाई प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।
उनले आफुलाई गरिएको कारबाहीका विषयमा पनि स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, ‘विद्यार्थी कालमा कम्युनिस्ट पार्टीको झण्डा बोकेँ, त्यतिबेला पञ्चायतको झुठा मुद्दा लगाएर जेल हालियो । बहुदलकालमा काँग्रेसले साङ्घातिक आक्रमणको कारबाही ग¥यो । तर, पनि हातबाट एमालेको झण्डा र मार्क्सवाद लेनिनवादको बिचार झुकेन । जनयुद्धमा दर्जनौँ कारबाहीका निर्णय सुनाइए तर पनि सिङ्गो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छाडिएन । यतिबेला वास्तविक छानविन नगरी एकपक्षीय र पूर्वाग्रही कारबाहीले कुनै असर पर्नेवाला छैन ।’
साथै उनले एकपक्षीय कारबाहीको डंका पिट्नेहरू कम्युनिष्ट आन्दोलन संकटपूर्ण अवस्थामा रहँदा एमालेको संगठनको निर्माण गर्दा कहाँ थिए भनेर प्रश्नसमेत गरेका छन् ।
वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको दुई हप्तापछि उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । ज्वालाले अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिस्ट नभएको बताएका छन् ।