सुर्खेत । परीक्षण गर्दा पोजेटिभ देखिए, नेगेटिभ भए पनि लक्षण देखिए वा गाह्रो महसुस भए ११३३ र १११५ नम्बरको हटलाइन सेवामा सम्पर्क गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसबाहेक ९८५१२५५८३९, ९८५१२५५८३७ नम्बरका मोबाइल नम्बरबाट चौबीसै घण्टा चिकित्सकहरूले सल्लाह दिने गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीकाे भनाइ छ ।
“आफूलाई लक्षण के छ, आफूलाई गाह्रो के भएको छ भनेर त्यहाँ सम्पर्क गर्न सक्छौँ। त्यो गर्दा चिकित्सकले घरमै बस्दा गर्न सकिने उपाय भन्नुहुन्छ भने नजिकमा कुन स्वास्थ्यसंस्थामा (शय्या) खाली छ भन्ने कुराको प्रबन्ध गरिदिनुहुन्छ,” उनले भने।
चिकित्सकहरूको सुझावबिना कुनै पनि औषधि प्रयोग गर्न नहुने चिकित्सकहरूकाे भनाइ छ । मन्त्रालयले विभिन्न अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको नम्बर सार्वजनिक गरेर सेवा लिन पाउने प्रबन्धहरू गर्न अस्पतालहरूलाई निर्देशन दिइसकेको र धेरै अस्पतालहरूले साेही अनुसार प्रबन्ध गरेको दाबी गरिएकाे छ।
सबै लक्षण कोभिडका छन् तर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो भने के गर्ने?
आफूमा कोरोनाभाइरस सङ्क्रमणको लक्षण भए जस्तो शङ्का हुनासाथ क्वारन्टीनमा बस्नुपर्ने सरकारले बताउँदै आएको छ। सङ्क्रमण सर्न सक्ने सम्भावित स्थानहरूमा यात्रा गरेर आएको अवस्थामा पनि १० दिन अलग्गै बसिदिन मन्त्रालयले आग्रह गरेको छ।
कोरोनाभाइरसको लक्षण भए पनि नतिजा नेगेटिभ भने आउन सक्ने चिकित्सकहरू बताउँछन्। “हामीसँग अहिले पनि १०० मा १०० नै सङ्क्रमण पुष्टि गर्न सक्ने प्रविधि छैन। हामीसँग अहिले भएकामध्ये सबैभन्दा विश्वसनीय भनेर आरटी-पीसीआर लाई लिन्छौँ। यसले पनि १०० मा १०० नतिजा दिने होइन। यसमा सङ्क्रमण भएका व्यक्तिमा पनि पुष्टि गर्न नसक्ने खालको केही सङ्ख्या हुन सक्छ,” उनले भने। “त्यस्तोमा हामीमा लक्षण विकास हुनसक्ने, हामीले अरूलाई सङ्क्रमण सार्न सक्ने हुन सक्छ।”
पीसीआर परीक्षणका लागि शङ्का भएकै कारण जो कोही जाने हुँदा त्यसपछि अरूसँग भेटघाट गर्न जान नहुने अधिकारीहरू बताउँछन्। “सङ्क्रमणको आशङ्का लाग्नेबित्तिकै १० दिन अलग्गै बस्नुभन्दा बुद्धिमानी कुनै पनि हुँदैन। त्यो १० दिन भित्रमा लक्षण देखियो गाह्रो भयो भने उपचारको व्यवस्थापन गर्न सजिलो हुन्छ,” उनले भने।
‘दश दिनपछि अरूलाई सङ्क्रमण सर्ने सम्भावना हुँदैन। आफूलाई समस्या भए थप केही दिन एक्लै बस्नुपर्ने हुन्छ।”
यसो गर्नाले अस्पताल र परीक्षणमा चाप पनि घट्ने उनले बताए।
अक्सिजनकाे जाेहाे कसरी गर्ने
घरमै होम आइसोलेशनमा बसिरहेको अवस्थाबारे जानकारी लिन र निगरानी गर्नका लागि हरेक स्थानीय तहमा स्वास्थ्यकर्मीहरूको प्रबन्ध गर्ने गरिएको मन्त्रालयको भनाइ छ। “उहाँहरूको नम्बर हामीले जनप्रतिनिधिहरूसँग खोजेर राख्नुपर्ने हुन्छ,” उनले भने।
घरमा बस्दा अक्सिजनको तह अक्सिमिटरको प्रयोग गरेर थाहा पाउन सकिने चिकित्सकहरूको भनाइ छ। अक्सिजनको तह ९२ भन्दा तल पुगे उपलब्ध सम्पर्क नम्बरहरूमा फोन गरेर जानकारी गराउने र ती नम्बरबाट सहजीकरणको प्रयास हुने मन्त्रालयको भनाइ छ।
ती सम्पर्क नम्बरमार्फत् सरकारले खटाएका कर्मचारीले नजिकमा अक्सिजन कहाँ उपलब्ध हुन सक्छ भन्ने कुराको प्रबन्धका लागि सहजीकरण गरिदिने र उनीहरूले अक्सिजन उपलब्ध नहुन्जेल घरमै गर्न सकिने कार्य र अभ्यासहरू सिकाइदिने बताइएको छ। (विविसिकाे सहयाेगमा)