सुर्खेत । शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका ४ सांसदहरुलाई नेकपा एमाले कर्णाली प्रदेशले पार्टी सदस्यसमेत नरहने गरि निस्कासन गरेको छ । नेकपा एमालेका कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी जारी गरेको विज्ञप्तीमा प्रदेशसभाका सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको जनाएको हो ।
‘तीन वर्ष अघि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बीच केन्द्रमा भएको सहमति अनुसार नेकपा एमाले सम्मिलित नेकपा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको थियो ।’ अध्यक्ष गोरख बोगटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘सर्वोच्च अदालतको फैसला अनुसार साविकका दुबै पार्टी पुर्ववत अवस्थामा फर्कि सकेको अवस्थामा २०७७ चैत्र ४ गतेका दिन बसेको नेकपा एमाले कर्णाली प्रदेश सभा दलको बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको थियो ।’
एकता भंग भएका कारण नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकोले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि २०७८ बैशाख ३ गते बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेश सभा दलको ह्वीप उलंघन गरेकाले चार जनालाई कारवाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित एवम् कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका निम्न व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवम् कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेकाले हाम्रो पार्टीको २०७८ बैशाख ३ गते नै बसेको प्रदेश सभा दलको बैठकको निर्णय अनुसार निजहरुलाई प्रदेश सभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी निजहरुलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको व्यहोरा पार्टीका नेता,कार्यकर्ता तथा सम्बद्ध सबैमा जानकारी गराइन्छ ।’