सुर्खेत । पार्टी निर्णयविपरीत विश्वासको मत दिएर एमालेका चार सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् । पार्टी ह्वीपविपरीत फ्लोर क्रस गर्ने चार सांसदको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालका विश्वासपात्र प्रकाश ज्वालाले गरे । पार्टी निर्णयविपरीत माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्नुको कारणबारे दुल्लूखबरले नेता प्रकाश ज्वालासँग संक्षिप्त कुराकानी गरेको छ ।
-पार्टी ह्वीप उल्लंघन गरेर सरकारलाई विश्वासको मत दिनुभएछ । किन ?
सरकार जोगाइयो । सरकार जोगाउनुपर्ने अवस्था देखियो । त्यसैले यो राजनीतिक निर्णय लिनुपर्ने स्थिति आयो ।
-के त्यस्तो कारण थियो ?
पार्टीमा जुन ढंगले समस्या सिर्जना गरिएका छन् । सहअस्तित्व कार्यान्वयन गरौँ मिलेर जाऔँभन्दा पेल्ने, जबर्जस्ती र एकलौटी ढंगले पार्टी चलाउन खोजियो । अरु त एमाले नै होइनन् भनेझैँ केन्द्रदेखि प्रदेश र जिल्लासम्म जे व्यवहार भए । त्यसैको जवाफ हो यो । प्रदेशमा एमालेको बहुमत छ । सरसल्लाह गर्ने र मिलेर जाने प्रस्ताव आएन । हाम्रा कुनै पनि कुरा वास्ता नगरेर आफ्नै ढंगले चल्न खोज्ने काम भयो । त्यसले यस्तो निर्णय गर्नुपर्ने भयो ।
-तपाईंहरू माओवादी केन्द्र प्रवेश गर्न लाग्नुभएको हो ?
कहाँ त्यस्तो हुन्छ । हामी नेकपा एमाले हौं । यो हामीले बनाएको पार्टी हो । सबैभन्दा धेरै एमालेको माया हामीलाई नै छ ।
-एमालेको आफैँसमेत उपस्थित बैठकको निर्णय उल्लंघन गर्न मिल्छ त ?
यो राजनीतिक निर्णय हो । कानुनी रुपमा बरु कति मिल्यो, मिलेन । तर, हामीलाई यो निर्णय गर्नुपर्छ भन्ने लाग्यो । पार्टीलाई एकताबद्ध गर्न दबाब दिन्छ भन्ने ठानेरै निर्णय गरेका हौं ।
-यो निर्णयले पार्टी एकताबद्ध हुन्छ कि थप विवाद ?
यसले एमालेलाई सदृढ गर्न र एकताबद्ध गर्न मद्दतै पुग्छ । नेतृत्वले कमसे कम पार्टीलाई एकताबद्ध गरेर नलैजाँदा के हुन्छ, कस्ता परिणाम आउँछन् भनेर सबक सिकोस् भन्ने चाहना हो । आजको निर्णयबाट पार्टी नेतृत्वले त्यही पाठ सिकोस् ।