सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा केही व्यक्ति र समूहले सुरु गरेको अस्थिरताको प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरेका छन् । नयाँवर्ष २०७८ को शुभकामाना सन्देश दिँदै शाहीले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘ व्यक्ति र समुहले गरेको अस्थिरता कर्णालीका सचेत जनताले सफलहुन नदिने विश्वास व्यक्त गर्दछु । हाम्रो चासो र चिन्ता भनेकै कर्णाली प्रदेशको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने नै हो । त्यसका लागि राजनीतिक स्थायित्व नै अहिलेको प्रमुख आवश्यकता हो । हामीले जनताको बिचमा मत माग्दै गर्दा राजनैतिक स्थायित्व र कर्णालीको समृद्धिको यात्रा तय गर्ने भनेर गरेको कबुल कसैले पनिभुल्नु हुदैन् ।’
शुभकामना सन्देशमा भनिएको छ ,‘ हाम्रा सामु आइपरेका सबै बाधा, अवरोध र चुनौतीहरुलाई पन्छाउँदै विकास र समृद्धिको अभियान सफल बनाई समतामूलक समृद्ध समाजवादी देश निर्माणमा सफलहुने विश्वास गर्दछु ।’
सन्देशमा मुख्यमन्त्री शाहीले भनेका छन् ,‘ विकास र समृद्धिको यो राष्ट्रिय अभियान पूरा गर्न प्रदेश सरकार पनि सम्पूर्ण शक्तिका साथ लागिरहेको यहाँहरूलाई अवगत नै छ ।
समग्र विकासमा पछाडि रहेको कर्णाली प्रदेशको विकासको लागि प्रदेश सरकारले भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।’ मुख्यमन्त्री शाहीले कर्णालीको भौतिक पुर्वाधार मन्त्रालय पनि आफैले सम्हाल्दै आएका छन् ।
प्रदेश सरकार गठन पश्चात हालसम्म १२५० कि.मी. सडकको नयाँ ट्रयाक निर्माण, १६७ कि.मी. सडक ग्राभेल र १८ कि.मी. सडक कालोपत्रे गरिएको शाहीले बताएका छनु् ।
प्र्रदेश राजधानी सुर्खेतको चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन, सुर्खेत उपत्यका खानेपानी योेजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थल स्तरोन्नतिका लागि नेपाल सरकारको समन्वयमा जग्गा प्राप्तिको कार्य थालनी लगाएत प्रदेशको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुग्ने कार्यहरु सुरु भएको पनि मुख्यमन्त्री शाहीले दावी गरेका छन।
कर्णाली प्रदेशमा विद्युतिकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रशारण लाईन सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको काम अगाडि बढाईएको छ ।
तत्काल राष्ट्रिय प्रशारण लाईन पुग्न नसक्ने क्षेत्रमा कर्णाली उज्यालो कार्यक्रम मार्फत लघुजलविद्युत र सौर्य विद्युत प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको पनि शुभकामना सन्देशमा शाहीले उल्लेख गरेका छन् ।
सन्देशनमा भनिएको छ ,‘ विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने उद्देश्यका साथ पर्यटन गुरुयोजना निर्माण गर्नुको साथै उच्च हिमालयन पदमार्ग, हाब्रे पदमार्ग, गुरिल्ला पदमार्ग, यार्चा पदमार्ग लगाएतका पदमार्गहरुको सम्भाव्यता अध्ययनकार्य सम्पन्न गरिएको छ । पर्यटन विकासका लागि पर्यटन पूर्वाधारहरुको विकासमा सरकारले विशेष जोड दिएको छ ।’
साथै मुख्यमन्त्री शाहीले स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा लगाएत संविधानप्रदत्त नागरिकका मौलिकहकको ग्यारेन्टीका लागि पनि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।
स्वास्थ्य पूर्वाधार, गुणस्तरीय उपचार व्यवस्था, शैक्षिक पूर्वाधारहरुको विकास, रोजगारी सृजना र सामाजिक सुरक्षाका महत्वपूर्ण कार्यक्रमहरु सरकारले संचालनगरिरहेको छ ।
रोजगारी सृजनागर्ने उद्देश्यले हरेक वडामा ३३ लाख देखि ६५ लाखसम्म पुग्ने गरी मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत प्रदेशभरका ७१८ वडाकालागि २ अर्व ९८ करोड बजेट निकासा गरिएको पनि शाहीले बताएका छन् ।