कालिकोट । रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई पुरानो खटारो भइसकेको गाडी मर्मत गरेर चलाउन भन्दै निःशुल्क दिएको थियो । निःशुल्क दिएको गाडी मर्मतमै १० लाख खर्च भएको भनी भुक्तानी दिएको पाइएको हो ।
१० लाख खर्च गरी मर्मत गरिएको गाडी जनताका लागि होइन । नगरप्रमुख काशिचन्द बराल, उपमेयर मिमसरा बम र कर्मचारीका लागि ल्याएको जनाइएको छ । ४५ लाखमा खरिद गरिएको नगरपालिकाको गाडी पनि मेयर, उपमेयर र कर्मचारीले जिल्लाको मान्मदेखि सुर्खेत, नेपालगन्ज, काठमाडांैलगायतका क्षेत्र कर्णाली वारि हुल्म बजारमा राखिएको छ भने उता नगरपालिकादेखि जितेबजारसम्मका भनेर मन्त्रालयबाट निःशुल्क गाडी ल्याइएको बुझिएको छ ।
१० लाख मर्मतमै खर्च गरी ल्याइएको गाडी नगरपालिका नपुग्दै बाटोमै बिग्रिएको छ । काठमाडाैबाटै मर्मत गरी बाटोमा चलाएरै आएको गाडी शान्तिघाटको उकालोमै खराब भएर थन्किएको छ । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमका अनुसार, काठमाडाैबाट चलाएरै आएको हो । शान्त्रिघाटको उकालोमा खराब भएको बताए । अगाडिको हेडलाइटले काम नगरेको र मेसिनमा खराबी आएको बुझिएको छ । गाडी चालकले सामान्य मर्मत गरेमा गाडी चल्छ भनेको छ ।
गरिब दुःखी जनताका लागी चढ्ने गाडी छैन । नगरपालिकाले आफू चढ्नका लागि दुई/दुई गाडी खरिद गरिनु उचित नरहेको स्थानीयवासीहरूले आलोचना गरेका छन् । जनताका लागि एउटा नगरबसको आवश्यकता थियो । अहिलेसम्म यो व्यवस्था गर्न सकेको छैन, आफ्ना लागि भने हाइलेक्स गाडी खरिद गरेको छ । स्थानीय रत्न विकले बताए । ‘बिरामी बोक्नका लागि सञ्चालन भइरहेको एउटा एम्बुलेन्स मात्र छ । त्यही पनि आवश्यक परेको बेला पाइँदैन । नगरपालिकाले टिपर खरिद ग¥यो गत वर्षमै कर्णाली नदीमै दुर्घटना भई नगरको बजेट खेर गयो । अब के भनौं ?’ उनले भने, ‘चुनाबमा भोट माग्ने बेलाका एकै बाचा पूरा गर्न नसकी जनप्रतिनिधिका कार्यकाल जान लागिसक्यो ।’
मन्त्रालयले निःशुल्क दिएको गाडीमा १० लाख मर्मतमै खर्च भयो भन्नु ठाडै अनियमितता गरेको उनले बताए । ‘एउटा गाडीमै १० लाख मर्मतमै खर्च भयो भनेर भन्नु कसले पत्याउँला ?’ उनले प्रश्न गरे । ८० लाखमा स्काभेटर, ४५ लाखमा नगरपालिकाको हाइलेक्स गाडी, ४० लाखको टिपर, १३ लाखको एम्बुलेन्स र १० लाख मर्मत गरी ल्याएको गाडी गरी २ करोड पुगेको छ । ४० लाखको टिपर गत वर्ष लालिघाट बजारस्थित कर्णाली करिडोरमा लकडाउनमा भारतबाट उद्धार गरी ल्याएका नागरिकलाई नगरपालिकामा ल्याउने क्रममा दुर्घटना भई कर्णाली नदीमा डुबेर खेर गइसकेको छ भने १० लाख खर्च गरी ल्याएको गाडी पनि बिच बाटोमै बिग्रेर थन्किएको छ ।