सुर्खेत । ‘हामीसँग आउँछौ भनेर जानुभएको दुई जना माननिय साथी हुनुहुन्छ । उहाँहरु झण्डावाल मन्त्री साथीहरु । उहाँहरुमा अलिकता बुझाईमा भिन्नता देखियो । उहाँहरु विगतमा पनि नेकपा एमालेकातर्फबाट मन्त्री पदमा सामेल हुनुभएको हो । सरकारमा हुँदाहुँदै दलको बैठकमा आउने कुरा अलि मिल्दैनकि जस्तो गर्नुभयो । बैठकमा अन्तिम समयमा आउनु भएन् ।’ बुधबार माओवादी केन्द्र गरेको समर्थनलाई फिर्ता लिदैँ कर्णाली प्रदेश नेकपा एमालेका संसदीय दल नेता यामलाल कँडेलले सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई लक्षित गरेको भनेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा मन्त्रीद्वय रावल र बुढा नेपाल पक्षमा लागेका थिए । ओली पक्षबाट मन्त्री भएका बुढा र रावल अन्तिममा ओली पक्षमा आउछु भन्दै झुक्याएको नेकपा एमालेका एक सांसदले बताए । ‘उहाँहरुले मुख्यमन्त्रीसँग अन्तिम बिदाई हुन्छु भनेर जानु भएको थियो ।’ उनले भने,‘उहाँले मोवाइल स्वीच अफ गरेर त्यही बस्नु भयो ।’
पार्टी विवादका पहिला नै थाहा थियो नेपाल पक्षलाई
चैत्र ४ गते नेकपा एमालेको ओली पक्षले संसदीय दलको बैठकको आह्वान गरेको थियो । काठमाडौंमा नेपाल पक्षले राष्ट्रिय भेलाको आयोजना गरेको बेला ओली पक्षले कर्णाली प्रदेशसभाका संसदीय दलको बैठक राखेपछि नेपाल पक्ष संशकित भएको थियो ।
यद्यपी बुधबार भएको संसदीय दलको बैठकमा संसदीय दलका नेता कँडेलले अर्को पक्षले काठमाडौंमा भेला राखेको भए ३ गते वा ६ गते संसदीय दलको बैठक गरौ भनेर छलफल भएको जानकारी दिएका थिए ।
नेकपा एमालेका कर्णाली प्रदेशसभाका सांसदहरुले गुट परिवर्तन गर्न थालेका थिए सांसदहरुले ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्री रावल, प्रदेश सांसद पद्मा खड्का, पदम रोकाया नेपाल पक्षको भेलाका लागि काठमाडौंमा पुगेका थिए । त्यहाँ पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेट गरेर उनीहरु भेलामा सहभागी नहुने र ओली पक्षले राखेको संसदीय दलको बैठकमा उपस्थित हुनका लागि कर्णालीमा पुगेका थिए ।
मन्त्री रावल काठमाडौंबाट भेलामा सहभागी हुनका लागि बुधबार बिहान ९ः०० काठमाडौंबाट बुद्ध एयर विमान चढेर नेपालगंजमा आई पुगे । नेपालगंजमा आइपुगेपछि मन्त्री रावलले दुईटा नम्बरका मोवाइल स्वीच अफ गरेर बसे । रावलले कँडेललाई सम्पर्क गर्दै सुर्खेत पुगेपछि मख्यमन्त्री शाहीलाई अन्तिम बिदाईका लागि जान्छु भनेको त्यहाँ पुगेपछि फिर्ता नभएको ओली पक्षका एक सांसदले बताए ।
त्यस्तै, बिहिबार नन्दसिंह बुढा पनि नेपाल पक्षले काठमाडौंमा आयोजना गरेको भेलामा सहभागी हुनका लागि नेपालगंजमा विमानस्थलमा पुगे । विमानस्थलमा पुगेपछि ओली पक्षसँग उनको सम्पर्क भयो । उनले काठमाडौंमा लागि विमानका टिकट फिर्ता गरेर ओली पक्षले आयोजना गरेको भेलामा सहभागी हुनका लागि सुर्खेत आएका थिए ।
सुर्खेत पुगेका मन्त्री बुढाले अन्तिम बिदाईका लागि मुख्यमन्त्रीलाई भेटनका लागि मुख्यमन्त्री शाहीको निवासमा पुगे र मोवाइल स्वीच अफ गरेर सम्पर्क बिहिन भए ।
दिनभर सम्पर्क बिहिन भएका मन्त्री बुढाले दिउँसो भएको संसदीय दलको बैठकलाई लक्षित गरेर बेलुका लेखे । ‘माफ गर्नुहोला । मृत्यु पत्रका हस्ताक्षर गर्न सकिएन । नेकपा एमाले जिन्दावाद कर्णाली प्रदेश जिन्दावाद ।’
एमालेको नेपाल समूहले बोलाएको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएकी प्रदेश सांसद पद्मा खड्का, पदम रोकाया भने भेलामा सहभागी भएका थिए ।