सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिका – १ काभ्राकी १६ बर्षिया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ।
गत बर्ष फागुन २ गते प्रणय दिवसकै राति भएको कविताको निर्मम हत्याको मुख्य कारण असफल प्रेम नै रहेको पुष्टि भएको कुरा सल्यान प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
कविताको हत्या भएको एक बर्ष एक महिना पछि जिल्ला प्रहरी कार्यालय सल्यानले हत्यामा संलग्न १६ बर्षिय एक बालकलाई पक्राउ गर्न सफल भएको छ।
प्रहरीको लामो अनुसन्धान पछि घटनामा संलग्न बालकलाई पक्राउ गरेर जिल्ला अदालत सल्यानको निर्णय बमोजिम पुर्पक्षका लागि नेपालगञ्ज सुधार गृहमा पठाइएको छ ।
कवितालाई आफुले प्रेम गर्ने तर कविताले प्रेम नगरी अर्को व्यक्तिसंग प्रेम सम्वन्धमा रहेको थाहा पाएपछि हत्या सम्मको योजना बनाएको कुरा अभियुक्तले स्वीकार गरेको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताए।
अभियुक्तले कवितालाई १३ बर्षको उमेर देखि नै विवाह गरौ भन्ने गरेको रहेछ र कविताले उसलाई कुनै वास्ता नगरेरपछि मेरो नहुने भए अरुको पनि हुन दिन्न भन्ने मनसायले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अनुसन्धानका क्रममा २ दर्जन वढि व्यक्तिहरुलाई ल्याएको र निकै सुक्ष्म अनुसन्धान पछि हत्यारा पक्राउ गर्न सफल भएको हो,’थापाले भने ।