काठमाडौं । विसं २०७८ मा तीन ओटा दशैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई ओटा चैते दशैं परेको छ । वैशाख ७ गते मंगलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चांग) मा उल्लेख छ ।
यसैगरी विसं २०७८ को चैत २६ गते शनिवार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते बिहीवार घटस्थापना गरेर शुरु हुने भएको छ ।
असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलवारदेखि शुरु हुनेछ । दशैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिवार परेको छ ।
चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महीनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन ओटा दशैँ परेको उनले जानकारी दिए ।