राज्यकोष दोहन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशव्यापी आमसभा गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला आउँदो शनिबार विराटनगरमा हुने आमसभामा सहभागीलाई ओसार्न मात्रै १५ सयभन्दा बढी गाडी प्रयोग हुने भएको छ।
ती गाडीलाई आवश्यक पर्ने तेल सित्तैमा माग्ने दाबी पनि सरकारी नेकपाको छ। विराट नर्सिङ होम नजिकैको खुला ठाउँमा हुन लागेको भेलामा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, प्रदेश १ पार्टीका इन्चार्ज सुवास नेम्बाङलगायतले सम्बोधन गर्दैछन्। १ लाख ३६ हजारभन्दा बढी सहभागी हुने पनि ओली समूहको दाबी छ।
नेकपा ओली समूहका प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले आमसभामा १५ सयभन्दा बढी गाडी प्रयोग हुने र त्यसमा लाग्ने सबै खर्च कार्यकर्ता आफैले व्यहोर्ने दाबी गरेका छन्। ‘जिल्ला-जिल्लाबाट भेलामा आउन ज्यादै ठूलो उत्साह देखिएको छ,’ भेलाको तयारी कस्तो छ भन्ने सेतोपाटीको प्रश्नमा अध्यक्ष घिमिरेले भने, ‘त्यसैलाई मध्यनजर गरेर मोरङमा मात्रै ५ सयभन्दा बढी गाडीले कार्यकर्ता सभास्थल ल्याउनेछन्। यसले दुई वटा वा त्योभन्दा बढी पटक ओसार्न सक्छ। झापाबाट ५ सय, सुनसरीबाट ३ सय उदयपुरबाट ७५ र पहाडी जिल्लाहरूबाट पनि ठूलो संख्यामा गाडीमा कार्यकर्ता र सर्वसाधारण ल्याउने तयारी भएको छ।’
भेलामा आउने मान्छे ओसार्न गाडी सित्तैमा दिनेहरू पनि धेरै भएको घिमिरेको दाबी छ।
तर, यातायात व्यवसायीहरुका अनुसार नेकपाका स्थानीय नेताहरू, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरूले भाडा उपलब्ध गराउने वचन दिएका छन्। ‘आमसभामा मान्छे ओसारेको बाँकी धेरै छ,’ झापाका एक यातायात व्यवसायीले भने, ‘पैसा दिएरै प्रयोग गर्ने कुरा भएको छ।’ कति पैसा हो भन्ने उनले खुलाउन चाहेनन्।
प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम हुने स्थल अहिले धमाधम बनिरहेको छ। त्यहाँ विराटनगर महानगर वडा नम्बर २ का हेभी साधनले जमिन सम्याउने काम सातायता चलिरहेको छ। भव्य स्टेज बनाउने मात्रै होइन, विराटनगर सहरभरी ओलीको फोटो र नारा अंकित आकर्षक फ्लेक्स टाँगिएको छ। खर्चिलो र भड्किलो तयारीमा गरिएको खर्च पनि ‘कार्यकर्ताबाटै उठाइने’ दाबी नेकपाको छ।रातोपाटीमा राजु अधिकारीले समाचार लेखेका छन् ।
‘राज्य कोषबाट खर्च भयो भन्ने कुरा आरोप मात्रै हो,’ घिमिरेले दाबी गरे, ‘त्यसो भन्नेलाई प्रमाण पेश गर्न चुनौती दिन्छु। त्यसो नगर्न निर्देशन नै दिएका छौं।’