कांग्रेसले म्यानमारको सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।
सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमाथि आफ्नो प्रतिक्रिया दिँदै कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।
गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी एनएलडीले स्पष्ट बहमुत प्राप्त गरेको भए पनि चुनावमा धााधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।
प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताए । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उनको भनाइ छ ।