सुर्खेत । आगामी बैशाख १७ र २७ गते प्रतिनिधी सभाका लागि दुई चरणको निर्वाचन घोषणा गरेसँगै जिल्लास्थित निर्वाचन आयोगका कार्यालयहरु चुनावको तयारीमा जुटेका छन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा मंगलबार वीरेन्द्रनगरमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताईन् ।
उनले माघ १५ गतेदेखि स्थानीय तहमा सात दिन र जिल्ला स्तरमा १२ दिन अद्यावधिकको काम गरिने जानकारी दिईन् ।
उनले भनिन,‘ २०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर २ लाख ४ हजार ५ सय ७७ मतदाता रहेकोमा गत पुस ६ गते सम्म जिल्लामा २ लाख १९ हजार ४ सय ७६ मतदाता रहने अनुमान गरिएको छ ।’
उनका अनुसार जिल्लाभर १ सय ३८ वटा मतदान केन्द्र र २ सय ७६ वटा मतदान स्थल निर्धारण गरिएको छ ।
सरकारले वैशाखमा गर्ने भनेर घोषणा गरिएको निर्वाचनको तयारी शुरु गरिएको छ,’उनले भनिन्ं‘, नयाँ मतदाता नामावली संकलन कार्य गत पुस ६ गते देखि नै स्थगित गरिसकेका छौं ।’
यद्यपि, गत पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएका सबैले मतदान गर्न पाउनेछन।
रेग्म्रीका अनुसार मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा हुने दोहोरोपना तथा त्रुटि घटाउन, हालसम्म जिल्लामा संकलित मतदाता नामावलीलाई वैधानिकता दिन र आगामी वैशाखमा हुने निर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार पर्ने उद्देश्यले मतदाता नामावली अद्यावधिकको काम शुरु गरिने छ ।