सुर्खेत । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा)को पूर्व विद्यार्थीहरु एकिकृत भइ क्याम्पसकाे सर्वाङ्गीण विकास गर्ने निर्णय गरिएकाे छ । क्याम्पसमा अध्ययन गरी विभिन्न तहमा पुगेका पूर्व विद्यार्थीहरुले मंसिर १५ गते ‘सुर्खेत क्याम्पस शिक्षा पूर्व विद्यार्थी संघ’ गठन गरेका थिए । संघकाे गठनपश्चात आइतबार बसेकाे पहिलाे बैठकबाट क्याम्पसकाे सर्वाङ्गीण विकास गर्न पहल गरिने निर्णय गरिएकाे हाे ।
बैठकले क्याम्पसको सर्वाङगीण विकासका लागि विभिन्न सरकारी, गैरसरकारी संस्था र स्वदेश तथा विदेशमा रहेका व्यक्ति र संस्थासंग समन्वय गर्ने लगायतका समय सापेक्ष विषयहरुमा केन्द्रित रहेन निर्णय गरेको संघका सदस्य सचिव राजन कुमार कँडेलले जानकारी दिए । पूर्व विद्यार्थीहरू एकिकृत भएर गैरराजनीतिक, गैरनाफामूलक संस्थाकाे स्थापना गरि पूर्व विद्यार्थी र क्याम्पसबीचकाे सम्बन्ध सुदृढ गर्न साझा संघकाे स्थापना गरिएकाे सचिव कँडेलले बताए ।
क्याम्पसमा अध्ययन गरी विभिन्न तहमा शिक्षा हासिल गरिसकेका पूर्व विद्यार्थीहरुले कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र बहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।
समितिको सदस्य सचिवमा सहायक क्याम्पस प्रमुख राजनकुमार कंडेल रहेका छन् भने सदस्यहरुमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी, नेपाल सरकारका सचिव घनश्याम उपाध्याय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेत, पूर्व स्ववियु सभापति चर्तुर्भुज शाही, कलमबहादुर सिजापति रहेका छन् ।
क्याम्पसमा अध्ययन गरि कुनै एक तह पास गरिसकेका जुनसुकै विद्यार्थीले संघकाे सदस्यता प्राप्ती गर्न सकिने सचिव कँडलले जानकारी दिए । सुर्खेत क्याम्पस शिक्षामा हाल स्नातक तह र स्नातकाेत्तर तह अध्यापन भैरहेकाे छ ।
विकासका दृष्टिकाेणले हाल जिम्मेवारी पदमा रहेका पूर्व विद्यार्थीहरू एकिकृत भएपश्चात क्याम्पसकाे स्तराेन्नति हुने अपेक्षा राखिएकाे छ । रकम अभावमा जीर्ण बनेका क्याम्पसका भवनहरूकाे मर्मत तथा निर्माण र शैक्षिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएकाे स्वतन्त्र विद्यार्थी युनियनका सभापति चक्र बहादुर शाहीले बताए ।