काठमाडौं । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा पशुपक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि विगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् ।
केही दिनअगाडि छिमेकी राष्ट्र भारतमा बर्डफ्लु देखिएको छ । छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपक्षी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।
डा. निर्मलले कोभिड–१९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परीक्षणको निम्ति प्रयोगमा दिइएको र अहिले पशुपक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले उक्त प्रयोगशाला क्रमशः पशुपक्षी रोगकै परीक्षणका निम्ति दिनुपर्ने बताए ।
सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्यरुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहीँकतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे ।
जाडो महिनामा आउने रोग भएकाले आगामी एक महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।
“कोभिड कहर नेपालमा सुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डरहरु सिल भएको, पशु तथा पशुजन्य पदार्थ कुनै पनि आयात भएको अवस्था थिएन । अहिले भारतमा बर्डफ्लु आएको छ । हामी सचेत हुनुपर्छ,’’ उनले भने, ‘‘नेपालमा देखा परिसकेको त छैन । तर, सम्भावना रहन्छ । जब छिमेकी मुलुकमा तथा सिमानामा आयो भने नेपालमा पनि स्वाभाविक हुन्छ ।’’
उनले यस वर्षको तयारी भनेको जहाँ फार्ममा लाग्यो, त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने रहेको बताए ।