आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । सम्वत फेरिन्छ, वर्ष फेरिन्छ ।
बर्षहरुको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरुप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौं ।
विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौं, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका बिषयमा कुरा जति गरेपनि अपुग नै हुन्छ ।
शिरमा सगरमाथाको स्वरुपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्वस्फूर्त रूपमा नेपालीजनले मनाउँदै आएका छन् ।
ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपीसंगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ ।
प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । ‘
ढाका’ नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ ।
त्यस समयमा भारतमैं रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यहि टोपी नेपाली शानको पर्याय हुन गएको हो ।
आज नेपाल ढाका कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुनेगर्दछ ।
नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोशाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।
जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौं
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
नेपालै नरहे
पहाड या हिमाल हैन तराई अनि बिदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्वपूर्ण छ । जाँदाजाँदै सोघ्न चाह्यौं, के तपाईसंग नेपाली टोपी छ ?