सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सुर्य चिन्हमा ‘प्रचण्ड–नेपाल’ले दाबी नगर्न चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघ सुर्खेतले सोमबार वीरेन्द्रनगरमा गरेको भेलालाई सम्बोधन गर्दै बस्नेतले भने,‘सुर्य चिन्ह हाम्रो गोत्र हो, हाम्रो भावना हो, रगत पसिनाले सिर्जेको चिज हो।’
उनले प्रचण्डलाई भने,‘ माधव र झलनाथलाइ लिएर जानुभयो ठिक छ। केटी मन प¥यो भने लभ म्यारिज गर्न पाइन्छ। एरेन्ज म्यारिज गर्न पाइन्छ ।’
तर,‘ हामीले मन पराएनौँ, एरेन्ज म्यारिज गर्न दिएनौँ । जबरजस्ती भागेर लभ म्यारिज गर्नुभयोे ठिक छ, चित्त बुझे दाईजो दिउँला तर, नाम र सुर्य चिन्ह दिन्नौँ।’
‘यो सूर्य पुष्पलाल, मनमोहन र मदन भण्डारीले नेतृत्व गरेको नेकपाको हो’ नेता वस्नेतले भने,‘नेकपालाई धोका दिने प्रचण्ड र माधव नेपाललाई सूर्य चिन्ह माथि आँखा लगाउने अधिकार छैन।’
नेता वस्नेतले व्यंग्यात्मक रुपमा प्रचण्ड र माधव नेपाललाई भने ‘हाँडी चिन्ह’ लियर जनताका सामु ‘पपुलारिटी’ प्रदर्शन गर्नुस। पार्टि एकीकरणको भावना विपरित अविश्वासको प्रस्ताव ल्याएको भन्दै पार्टी विभाजन गर्ने मुख्य नाइके प्रचण्ड भएको उनको आरोप छ।’
केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशको लागि जनतामा जाने निर्णय स्वागतयोग्य र सराहनीय रहेको उनको भनाई थियो।
बैशाखमा हुने निर्वाचनबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको गुट पत्तासाफ हुन्छ।’ ‘जसरी पनि निर्वाचन गरायर नै छाड्छौँ,’उनले जिकीर गरे।’
निर्वाचनसँगै प्रचण्ड कम्युनिष्ट आन्दोलनबाट होइन, नेपालको राजनीतिबाट नै गल्र्यामगुर्लुम ढल्ने दाबी उनले गरे।
मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको जिकीर गरेका बस्नेतले केपी ओलीको निकै प्रशंसा गरिरहे। आफुले सम्बोधन गर्ने बेला देखिनै आफ्ना मन्तव्य भन्दा पनि केपी ओलीकै प्रशंसा गर्नमा उनी व्यस्त भए।
खड्गप्रसादलाई ‘केपी बा’ भन्नेहरुको सँख्या बड्यो। भारतमा महात्मा गान्धी, नेल्शन मण्डेला, लगाएतका विभिन्न देशका चर्चित व्यक्तिहरुको उदारण दिँदै केपीलाई पनि ‘केपी बा’ भन्न थालेको बताए।
उनले माधव, झलनाथ, प्रचण्डलाई मात्र हैन्, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल देखि बाबुराम भट्टराईको समेत आलोचना गर्न भ्याए ।
नेता बस्नेतले खड्गप्रसाद नामलाई उल्टाई–पुल्टाई व्याख्या गरेर भने,‘ प्रसाद भनेको प्रसाद नै हो।
यस्तै नेकपाका केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले युवालाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे।
साथै उनले प्रचण्डले गरेको जनयुद्धका घाईते, पीडितहरुको घाउमा मलम लगाउने काम ओलीले गरेको बताए।
कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए। ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गर्छन्,’ पौडेलले भने ,‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम भयो।’