सुर्खेत । हुम्लाका विघटित प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
उनी खड्गप्रसादलाई छक्याएर प्रचण्ड–नेपाल तर्फ नै फर्किएका हुन् ।
लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहेको जानकारी गराएका छन् ।
उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्रममा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्लावासीलाई आग्रह गरेका छन् ।
उनले सवैलाई प्रचण्ड नेपालको मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकताबद्ध भएर बस्न अनुरोध समेत गर्दै ‘म हुम्ली जनताको सेवामा निरन्तर रुपमा लागि रहने प्रतिवद्धता व्यक्त गर्दछुु’, भनेका छन् ।
लामाले गत २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैलाई छक्क पार्दै मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका थिए ।
छक्कबहादुरलाई जिल्लाका अगुवा नेता र कार्याकर्ताले साथ नदिएपछि पुरानै कित्तामा फर्किएको बताईएको छ।
उनका अनुसार प्रधानमन्त्री ओली समूहका दल रावल र गोरखबहादुर बोगटीले मन्त्री पदको आश्वासन दिएर लामालाई कित्ता परिवर्तन गर्न लगाएका थिए ।