सुर्खेत । ट्राफिक प्रहरीले शनिबार घाँससहित नियन्त्रणमा लिएको कर्णाली प्रदेशका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीलाई ५ सय जरिवाना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आइतबार १० बजेट जरिवाना तिराइ छाडिएको जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले पहिलो पटक भएकाले ५ सय रुपैयाँ जरिवाना गरिएको बताए । यस्ता क्रियाकलाप दोहोरिए दोस्रो पटक १ हजार, तेस्रो पटक १५ सय र चौथो पटकबाट कानुन अनुसार कारबाही हुने उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस ल्याउँदै गर्दा सुब्बाकुनास्थित चेकपोस्टमा ट्राफिक प्रहरीले शनिबार बेलुका ५ बजेतिर गाडी नियन्त्रणमा लिएको थियो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएका छन् ।
गाडीमा चालकसहित २ जना मानिस र बाँकी सिटमा घाँसले भरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबारको दिन बिना पास नियम विपरीत सञ्चालन गरिएको भन्दै ट्राफिकले नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार :