नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ।
उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्।
सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने।
सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफल आदिमा दिनभर व्यस्त भएको भनी सो बैठकलाई मंगलबारको लागि सारिएको थियो।
सोमबार बानेश्वरस्थित संसद भवनमा भेला भएका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका आफूपक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंगलबार केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्ने जानकारी गराएका थिए।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै बसेको स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। ओली पक्षका सदस्य अनुपस्थित रहेको सो बैठकले ठोस कारवाही भने गरेको थिएन।
नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताएका छन्।