(बेलायत) । यूरोपेली देशहरुले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाउन थालेका छन् । बेलायतमा कोरोना भाइरसको संक्रमण अनियन्त्रित बनेको चेतावनी शनिवार बेलायत सरकारले दिएको थियो ।
क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन सरकारले भनेको छ । सो चेतावनीसँगै त्यहाँबाट हुने उडानमा आइतवारदेखि नै प्रतिबन्ध लगाउन थालिएको हो ।
बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै नेदरलयाण्डले पनि आइतवारदेखि बेलायती उडानमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध आइतवार बिहान ६ बजेदेखि जनवरी १ सम्म लागू हुनेछ ।
सोही कदमलाई पछ्याउँदै जर्मनीले पनि बेलायत र दक्षिण अफ्रिकाबाट आउने विमानमा त्यस्तै खालको कदम चाल्ने बारे विचार गरिरहेको छ । छिमेकी बेल्जियमले पनि मध्यरातदेखि बेलायतबाट आउने हवाई उडान र रेल स्थगित गर्ने बताएको छ । एजेन्सी