नेकपा स्थायी समिति बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ । आइतबार अपरान्ह बालुवाटारमा बसेको स्थायी समिति बैठकले महरालाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिएका थिए । महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।
उनी पूर्वमाओवादीका महासचिव थिए। पूर्वउपप्रधान एवं गृहमन्त्री महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटक-पटक माओवादीका प्रवक्ता, दुईपटक सरकार-माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य थिए ।
२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता बनेका थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए ।
२०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका थिए । २०३६ देखि वाम राजनीतिमा लागेका महरा माओवादीमा २०५२ देखि महरा सपरिवार नै भूमिगत भएका थिए ।