दैलेख । दैलेखमा शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । दशैँ–तिहार लगत्तै शुरु गरिने भनिएकोमा काम हालसम्म पनि हुन नसकेको हो ।
जसका कारण मुलुककै महत्वपूर्ण योजनाकोे दोस्रो चरणको काम कोरोनाका कारण टर्ने देखिएको छ । आयोजनाका अनुसार दोस्रो चरणमा ‘ड्रिल’ को काम थालनी गर्न लागिएको थियो । यद्यपि, ड्रिलका लागि आवश्यक औजारहरु कोरोना भाइरसका कारण चीनबाट ल्याउन नसकिएकोले काममा ढिलाइ भएको हो ।
आयोजना प्रमुख एवम् खानी तथा भु–गर्भ विभागका उप–निर्देशक सुधीर रजौरेले ‘सन २०२१’ देखि हुन सक्ने जानकारी दिए । विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाइ सकेकाले कुनै दुविधा नभएको र २०२१ अथवा आउँदो फागुनदेखि काम सुचारु हुन सक्छ,’ उनले भने । तर, त्यो कुराको पनि टुङ्गो भने लागिसकेको छैन । कम्पनीले औजार ल्याउने र त्यसपछि मात्र कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान हुन्छ,’ जौरेले भने ।
विभागले गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । रजौरेका अनुसार चीनको अध्ययन समूहले अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले जानकारी दिएको छ । ड्रिल ४ दशमलव ५ किलोमिटर गहिराइमा गरिने छ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ । जसका लागि सम्भावित स्थानहरूको पहिचान हुँदैछ ।
चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम भने सम्पन्न भएको विभागले जानकारी दिएको छ । उपनिर्देशक रजौरेका अनुसार अब, ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ, पत्ता लगाउने काम हुनेछ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको थियो ।
दैलेखका श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वरलगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम गर्दै आएको छ ।