हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु आउन थालेका छन् ।
करीब नौ महीना कोरोना संक्रमण र तीन महीना हिमपातले बन्द रहेका हिल्सामा पुगेर आठओटा टिपरले खाद्यन्न्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका ती टिपर हिल्सा पुगेर सोमवार फिर्ता भएका थिए ।
यही मंसिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले विल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिए ।
उनका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव रहेको थियो ।
यस्तै, चीनबाट लकडाउनपछि पहिलो पटक १२ ओटा गाडीले हिल्सासम्म पुगेर सामग्री पु¥याएका थिए । नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावाससँगको समन्वयमा सामान आयात भएको हो । दैनिक उपभोग्य बस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन् ।
एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले रू. दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरीद गरेका थिए । उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासंघका उपाध्यक्ष पेमा लामाले जानकारी दिए ।