सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ ।
हुम्लाको तल्लो क्षेत्रमा रहेका ताँजाकोट, अदानचुली र सर्केगाड गरी तीन वटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
कर्णाली करिडोर सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्र्याक खुलाएर गाडी चल्न सुरु गरेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा समाहित भएको हो ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक खण्डको निर्माण सकाएपछि हुम्ला जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
जिल्ला सदरमुकाम सिमकोटबाट आएको जिल्लाका अधिकारीको टोलीले निर्माणाधीन कर्णाली करिडोरको संयुक्त रूपमा अनुगमन गरेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको टोलीले हुम्ला र बाजुरा जिल्लाको सिमाना ताँजाकोट गाउँपालिकाको कवाडी, अदानचुली र सर्केगाड गाउँपालिकाको वालुकुनासम्मको सडकको अनुगमन गरेको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
‘नेपाली सेनाले निर्माण गरेको सडकको अनुगमन गर्न सांसद लामाको नेतृत्वमा जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसी, ताँजकोट, अदानचुली र सर्केगाडका जनप्रतिनिधि, नागरिक अगुवा र सञ्चारकर्मीको टोलीले संयुक्तरुपमा अनुगमन गरेको छ’, अध्यक्ष फडेराले भने, ‘सडकको अनुगमनसँगै अब नेपाली सेनालाई उक्त सडक सडक विभागलाई हस्तान्तरण गर्ने प्रक्रिया गरेपछि नियमित रुपमा वालुकुनासम्म सवारी साधन आवतजावत हुनेछ ।’ नेपाली सेनाले ट्र्याक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक कामका नाममा केही सवारी साधन सञ्चालनमा आउने गरेका छन् ।