काठमाडाैँ । खानेपानी मन्त्री विना मगरले दावी गरेकी छन की एक रुपैयाँ भ्रष्ट्रार गरेको देखाए राजीनामा दिन्छु ।
विभिन्न प्राविधिक कठिनाइका कारण मेलम्ची आयोजनाको निर्माण अवधि थप लम्बिँदै जाने समाचार सार्वजनिक भइरहेको बेला खानेपानी मन्त्री विना मगरले मेलम्ची समयमै आउने दाबी गरेकी हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् लेखेकी छन् ‘मेलम्ची समयमै आउँछ, काठमाडौवासी जनताहरु ढुक्क हुनोस ।’
मन्त्री मगरले समयमै मेलम्ची आउने बताए पनि त्यो समय कहिले हो भन्नेचाहिँ उल्लेख गरेकी छैनन् । ज्ञातव्य छ, मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएकोले आयोजनाको काममा थप ढिलाइ हुने सम्बद्ध निकायले नै सार्वजनिक गरेको छ ।
यस्तै, मन्त्री मगरले अर्को एक ट्वीटमार्फत खानेपानी मन्त्रालयमा एक रुपैयाँ मात्र भ्रष्टाचार भएको कसैले प्रमाणित गरेमा आफू राजीनामा दिन तयार रहेको जनाएकी छन् ।
अत्याधिक भ्रष्टाचार भएका मन्त्रालयमध्ये खानेपानी मन्त्रालय पनि रहेको चर्चा चलिरहेको परिवेशमा मन्त्री मगरको यस्तो चुनौती सार्वजनिक भएको हो ।
ट्वीट गर्दै उनले भनेकी छन्, ‘आज म प्रतिज्ञा गर्छु, खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छोड्छौँ ।’
यसै क्रममा देश सङ्घीयतामा गएपछि खानेपानी मन्त्रालयका संरचना र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै मन्त्रालयलाई काममा कठिनाइ भएको उक्त मन्त्रालयले जनाएको छ ।
कार्यालय र त्यहाँ कार्यरत जनशक्ति हस्तान्तरण भए पनि सङ्घीय सरकारको खानेपानीका लागि आवश्यक संरचना निर्माण, वितरण र व्यवस्थापनको जिम्मेवारी कम नभएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यको भनाइ छ ।
पहिले सङ्घअन्तर्गतका संरचना र जनशक्ति भए पनि नयाँ संविधानका आधारमा अहिले अरु सरकारलाई हस्तान्तरण भइसकेको छ । पहिले सबै जिल्लामा रहेका कार्यालय अहिले हस्तान्तरण भएकाले १५ जिल्लामा मात्रै अस्थायी कार्यालय रहेको मन्त्रालयले जनाएको छ । पहिले झण्डै दुई हजार ५०० कर्मचारी रहेकामा समायोजनपछि झण्डै ४०० मात्रै कर्मचारी बाँकी रहेको भन्दै शाक्यले भने, ‘कर्मचारी र कार्यालय गए पनि काम तल गएको छैन ।’