सुर्खेत । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गएपनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ताले सताउने आठबीस नगरपालिकाका किशोर समूहका छात्राहरुलाई अहिले यो समस्याले सताउन छाडेको छ ।
महिनावारी हुँदा शारिरीक समस्या हुने र पठन–पाठनमै समस्या हुने गरेपछि महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने आएपनि कक्षा छाडेर घर र्फकने गरेपछि आठबीसका विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरिँदै छ ।
सेनेटरी प्याड पाएपछि छात्राहरु खुसी छन् । आईतबार मात्रै आठबीस नगरपालिका–६ को कालिका माध्यामिक विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिएको छ ।
आठबीस नगरपालिकाका नगर–उपप्रमुख दिपा बोहोराले आफै स्कुलमा गएर प्याड वितरण गरेकी हुन् । उनका अनुसार कक्षा ६ देखि माथिका महिनावारी हुने सम्पुर्ण छात्राहरुलाई प्याड वितरण गरिएको छ ।

एसभन्दा अघि ३ ओटा सामुदायिक विद्यालयमा बाँडिसकिएको छ र बाँकी विद्यालयमा पनि प्याड वितरण गरिने उप–प्रमुख बोहोराले जानकारी दिईन् ।
उनले भनिन् ,‘ हाम्रो जस्तो ग्रामिण भेगमा छात्राहरु महिनावारी भएपछि विद्यालय जान लाज मान्छन् । अझै पनि चेतनाको विकास हुन सकिरहेको छैन् ।’
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने भएको छ । सोही अनुसार कालिका माविका पनि प्याड वितरण गरिएको बोहोराले बताईन् ।

तर, अधिकाँश छात्राहरु अझै पनि प्याडको प्रयोग बारे पुर्ण रुपमा जानकार हुन सकिरहेका छैनन् । त्यसका लागि यउटा विशेष प्रकारको अभियाननै सञ्चालन गरिनुपर्ने देखिन्छ ।