काठमाण्डौ – कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३।९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
यही असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो । उनले अनुसन्धानमा प्रदेश नं २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी भएको देखाएको बताए ।
तराई र पहाडभन्दा हिमालमा सङ्क्रमणको जोखिम त्यति नभएको अध्ययनले देखाएको छ । अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई सङ्क्रमण बढी भएको पाइएको छ ।
बालबालिकाका पनि सङ्क्रमण भएको पाइएको छ । “बालबालिका लक्षण मात्र नदेखिएर सङ्क्रमण नभएको भन्ने थियो”, उहाँले भन्नुभयो, “बालबालिकालाई भित्रीरुपमा सङ्क्रमण भएको अध्ययनले देखाएको छ ।”
नले े अध्ययनबारे थप मन्त्रालयले जानकारी दिने बताए । महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो । एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ । यसरी प्रत्येक प्रदेशमा चार सय ५० जनाको दरले तीन हजार एक सय ७० जनाको नमूना सङ्कलन गरिएको थियो । महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो ।
परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो ।
महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी नगराएको बताए । उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएपछि आधिकारिकरुपमा समुदायस्तरमा के छ भन्ने देखाउने बताए ।
फेरि परीक्षण
डा. पाण्डेले समुदायस्तरमा देखिएको छ वा छैन भनेर फेरि अर्को परीक्षण गरिने बताए । उनल ेअहिलेको अध्ययनलाई सबैलाई समेट्न नसकेकाले पुनःएन्टिबडी परीक्षण गरिने बताए ।
“अहिले सङ्क्रमण पनि घटेको छ, किन घट्यो, अर्को कुरा अहिले कोभिड–१९ विरुद्धको खोप ल्याउने भनिएको छ, उक्त खोप कस्तालाई लगाउने हो त्यसको निक्र्यौल गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्यही भएर पहिलेकोभन्दा व्यापक रुपले एन्टिबडी परीक्षण गरिनेछ ।”
उनले े असोज–कात्तिकमा भन्दा जेठ–असारमा गरिएको भए अध्ययन राम्रो हुने धारणा राखे । नेपालमा अहिलेसम्म दुई लाख ४६ हजार ६९४ जनामा सङ्क्रमण देखिएको छ भने दुई लाख ३२ हजार ८ सय ७२ निको र एक हजार ६७४ जनाको निधन भइसकेको छ ।