सुर्खेत । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले सरकार सुतेको स्वाङ परिरहेको बताएका छन् । आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागि बसेको आरोप लगाएका हुन् । ‘सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज कांग्रेसले उठाउँदै आएको छ ‘ उनले भने, ‘अब यसका लागि कांग्रेसले सडक आन्दोलनको तयारी गरेको छ ।’
नेपाली कांग्रेसले यही मंसिर २९ गते देशव्यापी सरकार विरुद्व विरोध प्रदर्शन गर्दैछ । सरकारले जनतालार्इ जबाफ दिन नसकेर लामो समयसम्म सदनमा नआएको भन्दै उनले सदनमा सरकारले जबाफ दिनुपर्ने बताए । नेता महरले सरकारी निवासलाई नेकपाको कार्यालय बनाएको आरोप समेत लगाए ।
प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएको आरोपको नेपाली जनताले जबाफ खोज्ने बेला भएको भन्दै उनले जवाफ कांग्रेसले माग्नका लागि आन्दोलनको तयारी गरेको बताए । सरकारका नराम्रा काम जनता सामु आउने त्रासले सरकारले काँग्रेस नेताहरुलाई कार्यक्रम आयोजनामा उपस्थित हुन रोक्ने लगायतका काम गरेको आरोपमा लगाए ।
लोकतन्त्रको बर्खिलाप सरकार अघि बढेको भन्दै यसको विरुद्ध हाम्रो आन्दोलन सुरु हुन लागेकोले सबैलाई मंसिर २९ गते हुने देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन समेत आग्रह गरे । राजतन्त्रको माग गर्दै सडक भइरहेको प्रदर्शन सविधान विपरितको कार्य हुँदासमेत बालुवाटार बात त्यसको संरक्षण भइरहेको आरोप नेता महरले लगाए।