सुर्खेत । कर्णाली प्रदेशर सरकारले प्रहरी संरचना निर्माणका लागि नाैं कराेड ९३ लाख बजेट अख्तियारी प्रदान गरिएकाे छ । सरकारकाे आज बसेकाे मन्त्रीपरिषद्काे बैठकबाट कर्णाली प्रदेश प्रहरी कार्यालयलाइ अख्तियारी प्रदान गरिएकाे हाे ।
सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार मंसिर १८ गते बसेको वैठकले भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि तीन करोड ९३ लाख, प्रहरी संरचना निर्माणमा पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणमा एक करोड बजेटको अख्तियारी कर्णाली प्रदेश प्रहरी कार्यालयलाई स्वीकृत प्रदान गरेको छ । बजेट खर्च गर्ने अख्तियारी पाएसँगै कर्णाली प्रदेशमा पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माण गरिने छ ।
उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको हो । प्रदेश प्रहरी गठन भएपछि प्रतिष्ठानले कर्णालीका उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने छ । प्रतिष्ठानलाई आवश्यक भवन निर्माण र पर्वतीय प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकारले तीन करोड ९३ लाख रुपैयाँ प्रहरी कार्यालयलाई अख्तियारी दिने निर्णय स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
बजेट र जग्गा अभावका कारण कर्णालीका एक सय २४ वटा प्रहरी यूनिट भाडाको भवनमा बस्दै आएका छन् । संरचना निर्माणका लागि जग्गा अभावका कारण कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाईू कार्यालय, दंगा नियन्त्रण गण र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालिन हुँदै आएका छन् ।
विभिन्न विपदबाट मृत्यु भएका परिवारका सदस्यलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले विपदबाट मृत्यु भएका २३ परिवारलाई ४६ लाख रकम दिने निर्णय गरेको हो ।
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तरगतको दुर्घटना उद्धार कार्यक्रम शंसोधन गरेर राहत रकम दिने निर्णय गरेको बताईएको छ । राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकिन गरेर दोहोरो नपर्ने गरी राहत सुविधा उपलब्ध गराइनेछ ।