काठमाडौँ । स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा कार्यकर्ताहरुबाट भएको नाराबाजीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ तरंग श्रृजना भएको छ ।
पार्टी सचिवालयले १० दिने युद्धविराम जारी गरेका बेला कार्यकर्ताहरुले विभक्त भएर नाराबाजी गरेका हुन् ।
नेता सुरेन्द्र पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले उहाँविरुद्ध नाराबाजी गरेपछि नेकपा विवादले नयाँ मोड लिने सम्भावना देखिएको छ ।
पाण्डेविरुद्ध भएको नाराबाजीको विरोधमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले विज्ञिप्त जारी गरेर भत्र्सना गरेका छन् ।
उनीहरुले घटनाबारे छानबिन गरी संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।
शनिबार दिउँसे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटि सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काम मात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका थिए ।
राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए ।
उनीहरूले पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइँदैन लगायतका नारा लगाएको बताईएको छ ।
पाण्डेले मदन भण्डारी फाउण्डेशनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएको समाचार माध्याममा जनाईएको छ ।
एता नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको आरोप पाण्डे समर्थित कार्यकर्ताहरूले लगाएका छन् ।
पार्टीको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि यस विषयमा कुरा नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध खनिएको भन्दै कार्यकर्ताले कार्यक्रम नै बिथोलिदिएका थिए ।
यो घटनाको पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले विज्ञप्ति जारी गरेरै विरोध जनाउँदै दोषीहरुलाई कारबाहीको माग गरेका छन्।
नेता पाण्डेविरुद्ध प्रदर्शन गर्ने टोलीको नेतृत्व साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाले गरेको स्थानीय नेताहरुले बताएका छन् ।
घटनामा जो संलग्न भए पनि छानबिन गरेर कारबाही गर्नुपर्ने स्थायी कमिटि सदस्य रघुजि पन्तले बताए ।
उनले फरक मत राखेकै आधारमा विरोधको यो शैली अपनाउनु नेकपाको संस्कार नरहेको बताएका छन्।
चितवनमा भएको घटनालाई नेकपा सचिवालय बैठकमार्फत जारी गरिएको १० दिने ‘युद्धविराम’ भंग भएको रुपमा विश्लेषण भइरहेको छ ।
वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाले यो घटना ओलीपक्षबाट सुनियोजित रुपमा भएको आरोप लगाए । दुवै जनाले छुट्टाछुट्टै विज्ञप्ति जारी सुनियोजित घटनाका दोषीलाई कारबाहीको माग गरे ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चल्ने दुई आधार भएको बताए ।
सामाजिक सञ्जालमा उहाँले एक विचार–राजनीति र अर्काे विधि–पद्धति पार्टी चल्ने दुई आधार रहेको उल्लेख गरे ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला प्रचण्डको यो धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उता उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गर्दै आफू कुनै गुटमा नरहेको बताएका छन् ।
यसअघि प्रचण्ड–नेपाल समूहसँग मिलेर ओली प्रवृत्तिको विरोध गरिरहनुभएका नेता गौतमले आफू कुनै गुटमा नरहेको बताउनुलाई नेकपा समिकरण फेरि फेरबदल भएको रुपमा अर्थ लगाउन थालिएका छ ।