नेपाल र भारतका राज्यस्तरका कुनै राजनीतिक सिमानाहरू नकोरिएको पूर्व प्राचीन कालबाटै कर्णाली प्रदेशमा ज्वाला संस्कृतिको जन्म भएको देखिन्छ । वैश्वानर पुराणको हिमवत्खण्ड यसको साक्ष्य हो । आठौँ शताब्दीको अन्त र नवौँ शताब्दीको आरम्भतिर हिन्दु धर्मको पुनरुत्थानका व्रmममा हिमालय क्षेत्रका तीर्थस्थलहरूको प्रतिष्ठापन गर्ने शङ्कराचार्यको अभियानका सिलसिलामा लेखेलेखाएको भनिने प्रस्तुत हिमवत्खण्डः वैश्वानर पुराणकै समय समयमा गरिएका लेखन, पुनर्लेखन एवम् प्रक्षिप्तांशमा यस क्षेत्रका प्राकृतिक ज्वाला र ज्वाला क्षेत्रको महिमा वर्णन गर्दै यसरी लेखिएको पाइन्छ ः
वाराणस्याः प्रयागाच्च मायापुर्याः विशेषतः ।
इदं क्षेत्रं महापुण्यं कलौ कल्मषनाशनम् । (हिमवत्खण्डः वैश्वानर पुराणम् ।।७।।)
यस प्रकार भारतीय प्रसिद्ध तीर्थ काशी, प्रयागादिभन्दा बढी पुण्यदायक भनिएको यस ज्वाला पञ्चकोसी क्षेत्रमा शिरस्थान, नाभिस्थान, पादुकास्थान, डुङ्गेश्वर र नेपालकै एक मात्र ज्वालामुखीको चिह्न रहेको स्थल धुलेश्वर (हाल मृत ज्वालामुखी) तथा अन्य महŒवपूर्ण तीर्थहरूमा कोटिला, स्वामीकार्तिक, भैरवी, सिद्धस्थली आदि पर्दछन् । यी मध्ये वैश्वानर पुराण लेखनपूर्व अज्ञात् समयदेखि सतत रूपमा ज्वाला बल्दै आइरहेका स्थान हुन्, शिरस्थान, नाभिस्थान र पादुका । पादुकामा वि.स. २०१३ सालको भीषण बाढीले भूगर्भ अर्थात् खनिज भण्डारसँगको सुरुङ मार्ग अवरुद्ध हुनाले मूल मन्दिरको ज्वाला निभे पनि खोलामा बग्ने अप्रशोधित इन्धन र ठाउँ ठाउँमा ज्वालाको अस्तिŒव देख्न सकिन्छ ।
प्रस्तुत हिमवत्खण्डः वैश्वानरपुराणम् आठौँ नवौँ शताब्दीतिर लेखिएको भनिए पनि प्रस्तुत श्लोकको संस्कृत, भाषा त्यति पुरानो देखिँदैन । श्री रत्न शर्मा रिजालले वि.स. १९७९ मा संस्कृतमै ‘वैश्वानरपुराणम्’ र वि.स. १९८० मा बद्रीकेदार महात्म्य प्रकाशित गरेकाले मूल ‘वैश्वानरपुराणम्’ को वास्तविक लेखन र परिष्कार, संशोधनबारे अनुसन्धान अपेक्षित छ । यहाँ प्रमुख तीर्थ डुङ्गेश्वर, पादुका, धुलेश्वर, नाभिस्थान र शिरस्थान पाँच पञ्चकोसीमा गुठीको व्यवस्था छ । यो व्यवस्था उत्तरमध्यकालपूर्व नै पृथ्वी मल्ल, अर्जुन मल्ल, मलय वर्माद्वारा गरेको र त्यसैलाई पछि रणबहादुर शाहबाट अगाडि बढाएको देखिन्छ । यस विषयमा लेखिएको पनि छः सामान्योयं धर्मसेतुर्नराणां काले काले पालनीयो भवभ्दिः । ये प्राक्तनावनिभुजां जगतीहितानां÷ धम्र्याँ स्थिति स्थितिकृतामनुपालेययुः…..। यी बाहेक यी पञ्चकोसीसँग जोडिएका अन्य तीर्थस्थलहरूमा केही ठाउँमा गुठी नाम मात्रको छ । वास्तविक पञ्चकोसीको पहिचान गरी गुठीको व्यवस्था गरिएका यी पाँच तीर्थस्थलहरू कर्णाली नदी, हाडेचौर खोला, छामघाट र लोहेरेले बनाएको भौगोलिक वृत्तभित्र पर्दछन् । त्यसो त कोटिलाबाहेक अन्य सहायक तीर्थहरू पनि नदी र खोलाको यही वृत्तभित्र छन् । ज्वाला संस्कृतिकै कुरा गर्दा यहाँ वरिपरिका प्रायः द्विज र कतिपय अरु केहीको समेतले दाह–संस्कार यिनै ज्वालाको अग्निद्वारा गर्ने प्रचलन छ । यति मात्र होइन यहाँका अखण्ड वैश्वानर ज्वालाप्रतिको अगाध आस्थाले निर्माण गरेको विश्वास एवम् संस्कृति र संस्कार पूर्वमध्यकालीन सिञ्जाको प्रभाव क्षेत्र आजको नेपालको राजनीतिक भूगोलभन्दा पर उत्तर तिब्बतको तल्लो भाग खारीको गुँगे, पुराङ तथा पश्चिममा प्रस्तुत बोधगया, लद्दाख र पूर्वमा सम्भवतः आजको सिन्धु र काभ्रे बीचको दोलालघाट एवम् दक्षिण वर्तमान भारतको उत्तर प्रदेशको लखनौ आदि कुन कुन स्थलसम्म विस्तारित थियो, अनुसन्धेय छ । यति मात्र होइन सम्भवतः यहाँका यिनै ज्वालाका आधारमा प्राचीन, मध्य आदि कालदेखि यस प्रभाव क्षेत्रलाई सवा लाख ज्वाला पहाड भन्ने गरिएको हो, जसका आधारमा हेर्दा यसको सीमा अझै विस्तारित हुन सक्ने देखिन्छ । यस प्रकार प्राचीन, पूर्व प्राचीन कुन कालदेखि यस क्षेत्रमा ज्वाला र ज्वाला संस्कृतिको आरम्भ भएको हो स्पष्ट हुन सकेको छैन ।
आज पनि कुमाउँ, गढवाल आदि सीमापारिका कैयौँ लोकसाहित्य र संस्कृतिमा यहाँको भाषा, संस्कृति, जनजीवन र भूगोल सबै प्रशस्त मात्रामा अङ्कित भएको पाइन्छ । ती मध्ये भारतको उत्तराञ्चल चम्पावत जिल्ला चम्पावत नगरपालिका १ की श्रीमती निर्मला गडतोलीले सुनाएर केशवदन्त्त पाण्डेले आफ्नो ‘नारी शकुन गीत’ नामक पुस्तकमा प्रस्तुत गरेको दुल्लुका ज्वालाको एउटा मागल (पन्त, २०१४ः१७४) छ, जसमा कतै लोप भएका वैश्वानर ज्वालालाई यस धर्तीमा पुनः आइदिन आराधना उपासना गरिएको छ । मानवले आगोको आविष्कार गरेपछि, त्यसबाट न्यानो लिन, त्यसमा खाना पकाएर खान थालिसकेपछि सलाई मात्र होइन चकमकबाट समेत आगो पार्ने प्रचलन आरम्भ भइनसकेका अवस्थामा यहीँबाट आगो लैजाने गरेको कुराको सङ्केत यसले दिन्छ, जस्तो कि बाजुरा जिल्लास्थित वडीमालिकाको मन्दिरका अखण्ड ज्वाला केही गरी निभेमा पुजारीको परिवारका कुनै व्यक्तिले पवित्र मानिने पाउपोस अर्थात्् खराउ लगाएर दुल्लुवरिपरिका यिनै स्थानबाट प्राकृतिक ज्वालाको आगो लिएर पुनः अग्नि प्रज्वलित गर्ने परम्परा (पन्त २०१४ः१७३) छ । अर्कोतर्फ यस मागलमा एक हातमा धोती र काखमा पोथी अर्थात्् कुनै पुस्तकाकार कृति बोकेको प्रसङ्गले पुजारीले पोथी अर्थात्् पुस्तक बोकेको बिम्ब दिन्छ । त्यस्तै पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशा खोजी गर्दै कही नपाएर दुल्लु देशमा वैश्वानर ज्वाला पीपलको रुखमुनि पाइएको उल्लेख छ । ती ठाउँ अर्थात्् शिरस्थान, नाभिस्थान र पादुकाको नाम लिइएको छैन । त्यहाँका मन्दिर आदिको पनि कुनै चर्चा छैन । भाषाको पनि निकै पुरानो रूप छ । यसैले त्यहाँ ती मन्दिर आदि बन्नुपूर्वको अर्थात्् निकै पुरानो देखिने यो मागलमा म पात्रले वैश्वानर ज्वालालाई आफ्नो देश अर्थात्् पुरानो परम्परामा स्वर्ग भनिने यस स्थलबाट मत्र्य अर्थात्् धर्तीमा आइदिन अनुरोध गर्दा अग्निले तिम्रो देशमा सासूहरूले भान्छा लिप्छन् र बुहारीहरू पिर्कामा बस्छन् । जेठो दाइ पैदल हिँड्छ र कान्छो घोडा चढेर हिँड्छ । त्यस्तो धर्म नष्ट भएको ठाउँमा म कसरी जाने भन्दछन् । यसका दुईटा अर्थमध्ये एउटा समाजका पुराना सामाजिक मूल्य र प्रचलनमा अन्तर आइसकेको देखिन्छ, जसले यो त्यति पुरानो होइन वा प्रक्षिप्तांश हो भन्ने लाग्छ भने अर्कोतर्फ दोस्रो अर्थ यी दुई स्थानका वा वैदिक आर्यका साँस्कृतिक भूमिबाट खस वा अन्य कुुनै अवैदिक बस्तीका भिन्न सामाजिक साँस्कृतिक भू–क्षेत्रमा बैश्वानर ज्वाला जान नमानेको देखिन्छ । यी ज्वालासम्बन्धी यहाँका मागलमा भन्दा केही भाषिकादि पाठान्तरसहित प्रस्तुत उत्तराञ्चलको प्रस्तुत निर्मला गडतोलीका फागका केही अंश यस्ता छन् ः
दुल्लु देःश पुगी मैले हेरोफेरो
उइँ पाया बैस्यानर देःव ए उइँ पाया
पीपलको डालीमुणी पाया छन् बैस्यानर देःब ए
हात धोती कोखी पोथी पाया छन् बैस्यानर (पन्त, ई. २०१४ः१७४)
संस्कृत तथा ज्वालापञ्चकोसीको परम्परा र पृष्ठभूमि, त्यसको तीर्थ विधान एवम् शब्दार्थको राम्रो ज्ञान नभएका आज हामी कतिपय सामान्य अध्येताहरू कुनै एक टीका पढेर त्यसको वास्तविक मर्म नबुझेरै र तीबाहेक अन्य सम्पूर्ण सामग्री एवम् गुठी आदिका व्रmममा तल्लो डुङ्गेश्वरलगायतका सम्पूर्ण पञ्चकोसी तीर्थस्थलका नाममा भएका ताम्रपत्र, लालमोहर आदि लिखत प्रमाण नपढेकैले र प्राचीन कालदेखि नै चल्दै आएको तीर्थ विधान आदिको परम्परा एवम् विश्वास आदि केही अध्ययन नगरी तल्लो डुङ्गेश्वरलाई त्यसबाट अलग गरिदिने आग्रहपूर्ण सङ्कीर्ण र कुत्सित नियत प्रस्तुत गर्ने गर्दछौँ । यस्तो नियतबस गरिएको हचुवा केटाकेटी टिप्पणीले डुङ्गेश्वर खोला र कर्णालीको त्रिवेणीका रूपमा रहेको वैश्वानर पुराण आदिमा सिद्धेश्वरका नामले प्रस्तुत डुङ्गेश्वरको धार्मिक, सामाजिक, विश्वास एवम् सत्यलाई उल्ट्यान सक्दैन । पञ्चकोसीभित्र कुन कुन स्थान पर्दछन् भन्ने कुरा ‘वैश्वानरपुराणम्’ (२०१२) को अवतरणिकामा स्पष्ट रूपमै लेखिएको छ, शिरस्थानदेखि ५ कोस नैऋत्यतिर पद्मावती कर्णालीका त्रिवेणीमा डुङ्गेश्वर छ । शिरस्थान १ नाभिस्थान २ पादुका ३ धूलेश्वर ४ डुङ्गेश्वर ५ पाँच स्थानान्तरगत क्षेत्रलाई पञ्चकोशी भनिन्छ । (वैश्वानरपुराणम्, २०१२ः४) यति मात्र होइन इतिहास प्रकाश भाग–१ मा पनि स्पष्टै लेखिएको छ, …….शिरस्थान १ नाभिस्थान २ पादुका ३ धूलीश्वर ४ डुङ्गेश्वर ५ र पञ्चकोसी वैश्वानर ज्वाला क्षेत्रका ५ स्थान मुख्य छन् (योगी, २०१३ः२१५) । (दैलेख-काठमाण्डाैं सम्पर्क सम्पर्क समिति स्मारिका २०७४ बाट सभार अंश )