नेपाल विभिन्न शासन व्यवस्थाले कैयौं वर्ष थलिँदै आएको मुलुक हो । यी व्यवस्था परिवर्तनको निम्ति थालिएका आन्दोलनबाट कयाैं सहिद भए भने कैयौं अन्तरविरोध पनि पैदा भए । जसको फलस्वरूप ०६२/०६३ को जनआन्दोलनले नेपालबाट तत्कालीन शासन व्यवस्था राजसंस्थाको मुन्टो निमोठेर ०६३ सालमा नेपालको अन्तरिम संविधान २०६३ जारी भयो।
आम जनताको लागि यो पल निकै उत्साहजनक थियो । लोकतन्त्रको प्राप्ति र सिमितै भएपनि नेपाली जनताका मौलिक हक अधिकार सुनिश्चित गर्ने भएकाले यो पलको स्वागतयाेग्य बन्याे । एकातर्फ केही स्वागत र गर्व गर्न लायक कामहरु भएपनि अर्कोतर्फ नेपालको अस्थिर राजनीतिले गर्दा देश विकासाेन्मुख भन्दा विनाशतर्फ उन्मुख हुँदै गयाे । लगभग एक दशक(०६३-०७२)को समयमा राजनीतिक अस्थिरताले जरो गाडिसकेको थियो। यो एक दशकको अवधिमा नेपालले न त स्थिरता पाउन सक्यो न त विकासको क्षेत्रमा काँचुली फेर्न नै । केवल सरकार बनाउन, ढाल्न, प्रधानमन्त्री र मन्त्री बन्ने संकल्प बोकेर राजनैतिक पार्टीको झोला र झण्डा बोकेर आएकाहरुको मनोकांक्षा पुरा गर्न मात्रै केन्द्रित बन्याे ।
यस दशकमा उपलब्धिमूलक कार्यको हिसाबले हेर्ने हो भने संविधानसभा निर्वाचन सम्पन्न भयो त्यो पनि दुई पटक: पहिलो संविधान सभा निर्वाचन २०६४ जसले पाँच वर्षमा सांसदहरूले तलब भत्ता बुझ्ने बाहेक केही उपलब्धि हासिल गरेनन् र दोस्रो संविधान सभा निर्वाचन २०७० जसले नेपालको वर्तमान संविधान २०७२ जारी गर्न सफल भयो तर पनि २०७४ सालसम्म संविधान पूर्ण कार्यान्वयन हुन सकेन । यसमा केही बाधा अवरोध सृजना भए जसमा पहिलो कारण राजनैतिक अस्थिरता र दोस्रो कारण प्रक्रियागत चरणहरू रहे। तर विभिन्न राजनैतिक दलका नाममा दर्ता भएका नेपाली राजनैतिक पार्टीहरू तथा तिनका नेताहरु जो नेपाल र नेपालीका निम्ति अभिषाप नै साबित भए। जो पार्टीहरुमा नेता कार्यकर्ताहरुको हैसियतले स्थापित छन् भने नेपालमा राष्ट्रनिर्माता,राष्ट्रसेवक,समाजसेवी र सांसदहरुको हैसियतले स्थापित छन् तर उनीहरूकै कारणले देश बर्बादीतर्फ उन्मुख भइरहेको छ।
जसको कारण हो सत्तामोह, पदलोलुपता, कुर्सी,धन र राष्ट्रको ढुकुटी माथिको गिद्दे दृष्टि अनि भ्रष्टाचार र अपराध गरेर सजिलै उम्किन सकिने अस्त्र। नेपालको वर्तमान परिप्रेक्ष्यमा दुई ठूला शक्तिको रूपमा देखा परेका राजनैतिक पार्टीहरू हुन्: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस । लगातार कैयौं वर्षसम्म एकलौटी सत्ता चलाउन सफल तर कार्यगत हिसाबले नेपालको एकमात्र असफल राजनैतिक पार्टी हो नेपाली कांग्रेस जसले वर्षौंसम्म देशको बागडोर सम्हाले पनि देश र जनताको हितमा कुनै काम नगरी आफ्नो समय पदिय भागबन्डा, पार्टीको आन्तरिक विवाद र गलत नेतृत्व चयन मै समय बितायो।
तत्कालीन दुई पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) बीच पार्टी एकता भएर एक भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी । जसमा तत्कालीन एमाले खासगरी बलियो सांगठनिक संरचना तयार गरेर प्रजातान्त्रिक एवम् लोकतान्त्रिक अभ्यासले खारिएर आएको विधिसम्मत तरिकाले आफ्नो आन्तरिक मामलामा दख्खल राख्ने पार्टी हो भने तत्कालीन माओवादी केन्द्र जुन जनयुद्धबाट सुरु भएर हाल धनयुद्ध जित्न सफल पार्टी हो। एउटै पार्टी त गुट र उपगुटको केन्द्र बन्छ भने दुई फरक मूलधारका पार्टीहरू एकीकृत भएर अगाडि बढ्दा बीचमा विवाद,समस्या र उल्झन हरु देखिनु स्वभाविक नै हो।
लोकतन्त्रमा मात्रै धेरै कुरामा विमति पछि नेपालको संविधान २०७२ जारी पछि २०७४ सालमा संविधान कार्यान्यवनको पहिलो चरणको रूपमा संघीयता स्थापना भयो जसको फलस्वरूप नेपालमा संघीय गणतन्त्र लागू भयो र संघीयताको कार्यान्वयन को निम्ति तीन तहका सरकार गठन का लागि स्थानिय तहको निर्वाचन – २०७४ र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७४ पनि सफलतापूर्वक सम्पन्न भयो। देश र जनताका माझ स्थिरता र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धताका साथ चुनावमा होमिने पार्टी हरु वा तिनका प्रतिनिधि ले आफू निर्वाचित भएको तीन वर्ष सम्म पनि माखो मार्न सकेनन्।
सबै भाषण र चुनावी एजेण्डाहरु गफमै सीमित छन्। देश र जनताको निम्ति निष्ठाको राजनीति गर्छौं भन्नेहरू ले नै आफै अनियन्त्रित भई व्यक्तिगत स्वार्थ मा लिप्त भएर कसैले भ्रष्टाचारीको उपनाम पाएका छन् त कसैले अपराधीको उपनाम पाएका छन्। यही नै प्रमुख कारण हो अस्थिरता,पार्टीभित्र आन्तरिक किचलो र जनभावना अनुसार काम नहुनुको। नेताहरुको सत्तामोह,पदिय झगडा र घिनलाग्दो कुकर्म हरुले नेपाली राजनीति थप अस्थिर विवादित र अस्तव्यस्त भएको छ। हाल पदको बार्गेनिङ, पैसाको चलखेल नभएको र भएपनि नमिलेकै कारण पार्टीहरू फुटको संघारमा पुग्छन् र फेरि आन्तरिक आपसी समझदारी को नाममा भागबन्डा मिले पछि जुट र एकताको पक्षमा रहेको दाबी गर्दछन्, क्रमशः यस्तै चलिरहेको छ र चलिरहने छ। यो सबै आम नेपाली जनताको निम्ति ‘ कागलाई बेल पाक्यो हर्ष न बिस्मात!’ सावित भएको छ।
हालसम्म नेपाली राजनीतिमा जतिपनि समस्या,विवाद र बाधा अवरोध आएका छन् ती सबै राजनीतिज्ञ हरुका व्यक्तिगत स्वार्थ का मागहरु मात्रै हुन्। देश र जनताका निम्ति त कसले काम गर्नु त परको कुरा हो सोच्न पनि सोच्दैनन्। फेरि यिनीहरूको आन्तरिक किचलो ले मारमा पर्ने भनेकै आम जनता हुन्। स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार लगायतका समस्याहरू नेपालमा पहिले नभएका होइनन् तर अहिले बढ्दो बजारीकरण, बढ्दो जनसंख्या ले झनै बढिरहेको अवस्था छ। तमाम समस्याहरूको बावजुत देश समृद्ध बनाउने भनेर बागडोर सम्हाल्न पुगेका राजनीतिज्ञ हरुको आन्तरिक विवाद र उल्झन देख्दा उदेक लाग्दछ। यी पार्टी र नेताहरुको किचलो वा वार्ता वा संवाद वा बैठकले आम जनता ले पाउने त केही होइनन् तर पनि झिनो आशा कायमै रहेको ले धेरै विवाद नभइकन देश विकासमा लागेर व्यक्तिगत भन्दा माथि उठेर निष्ठाको राजनीति गरे समृद्धि पनि धेरै पर त छैन।
यति गरे नेपाली जनता ले कोटी कोटी प्रणाम र धन्यवाद ज्ञापन गर्ने थिए तर यो अवसर आम नेपाली जनताले पाउने मा शंकै छ। विभिन्न राजनैतिक पार्टीहरू ले आफ्ना समस्या हरुलाई समाधान गरेर वा थाती राखेर जनताहरूको समस्या दुःख पीडा हरुको समाधान गरिदिए उनीहरूका आधा आन्तरिक किचलो समाधान भएर जाने सम्भावना धेरै देखिन्छ। आशा गरौं; आन्तरिक विवाद लाई, समस्यालाई, उल्झनलाई पारदर्शी तरिकाले पुनः यिनै समस्या नदोहोरिने गरी समाधान गरेर जनअपेक्षा अनुरूप कार्य गर्नेछन् गराउने छन्। जनताका सारथी बन्नेछन्, जनताका दुःख,समस्यालाई र गुनासोलाई उचित सल्लाह सुझाव का साथमा ग्रहण गर्ने प्रण गर्दै जारी विवादहरुलाई समाप्तिको घोषणा गर्दै विधि,विधान र पद्धति अनुरूप अघि बढ्दै देशलाई समृद्धि तर्फ उन्मुख गराउने छन्।