सुर्खेत । पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो समेत शनिबारसम्म निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर शनिबार १९ सय ४६ जना कोरोना संक्रमित भएका छन् ।
त्यसैगरी संक्रमणमुक्त भएर २५ सय तीनजना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ ।
सुर्खेतमा एक पुरुषको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ का ८० वर्षीया पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
गत कार्तिक २३ गते कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिए र होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र आकस्मिक तथा अन्य आवश्यक उपचार साथै अक्सिजन दिँदा पनि बचाउन नसकिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।कर्णालीमा कोरोनाका कारणले १७ जनाले ज्यान गुमाएका छन् ।