सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने बताएका छन् ।
बुधबार संखुवासभा पुगेका ओलीले त्यहाँका पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।
पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्छ ? हल्लाको पछि नलाग्नुहोस ’, ओलीले भने ।
उनले पत्रकारहरुसँग पनि असन्तुष्टि पोखे । विहानै राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै प्रश्न गरे, ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’
ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताए । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’, उनले भने ।
अहिले पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म नपुग्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताएका छन् । संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर बुधबार नै काठमाडौं फर्किएका छन् ।
उनीसँगै मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुगेको समाचार अनलाइन खबरमा छ ।