काठमाडौं । पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधानको प्रयासस्वरुप नेकपाका दोस्रो तहका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएपनि पूर्वमाओवादी पक्षका नेताहरु अनुपस्थित भएपछि बैठक नबसी नेताहरू फर्किएका छन् ।
सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको थियो । १५ बुँदे सुझाव अध्यक्षद्वयलाई बुझाएपछि कार्यदल निस्कृय बनेको थियो ।
सोमवार मध्यान्ह बालुवाटारमा कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाइएको थियो । कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका दुई सदस्य भीम रावल र सुरेन्द्र पाण्डे उपस्थित भएपनि माओेवादी पक्षका नेताहरु अनुपस्थित भएपछि नेताहरू छलफल नै नगरी फर्किएका हुन् ।
‘एक घण्टासम्म कुरा पनि पूर्वमाओवादी पक्षबाट कोही नआएपछि हामी चिया पिएर फर्क्यौं,’ छलफलका लागि बालुवाटार पुगेका एक नेताले लोकान्तरलाई बताए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए ।
यस्तै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल थिए । पूर्व माओवादी पक्षका नेताहरु उपस्थित नभएका कारण बैठक बस्न नसकेको नेता पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
शर्मा अस्वस्थ भएर आराम गरिरहेका छन् भने भुसालले कार्यव्यस्तताका कारण जान नपाएको लोकान्तरलाई बताइन् ।
विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सचिवालयका ५ जना सदस्यले ४८ घण्टा भित्र सचिवालय बैठक बोलाउन दिएको अल्टिमेटम आज सकिएको छ । प्रधानमन्त्री ओलीले हिजो माधव नेपाल समूहसँग परामर्शसमेत गरेका थिए । lokantar