सुर्खेत । साबिकको कर्णाली (कालिकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगु)मा नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भएर मंसिरमा सम्पन्न हुने गर्दछ । पुस र माघ यहाँ अत्यधिक जाडो हुने हुनाले विद्यालय बन्द हुने गर्दछन् । तर, यो चालू शैक्षिक सत्रमा विद्यालय सञ्चालन आएको महिना दिनपछि कोरोना संक्रमणका कारण विद्यालय बन्द भए ।
संघीय सरकारले गएको चैत ११ देखि कोरोना संक्रमणका कारण विद्यालय बन्द गर्ने घोषणा गरे पनि यहाँको स्थानीय प्रशाासनले एक दिनअगावै १० चैतमै विद्यालय बन्द गर्याे । झन्डै आठ महिनादेखि विद्यालय र किताबको समेत मुहार देख्न पाएका छैनन् विद्यार्थीले । शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि यहाँका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् ।
कर्णालीको नयाँ शैक्षिकको चैतमा वार्षिक परीक्षा लिने गरी तिला गाउँपालिकाले २३ कात्तिकदेखि सामुदायिक विद्यालय सञ्चालनमा ल्याएको छ । त्यसैगरी पातारासी गाउँपालिकाले पनि २३ कात्तिकदेखि विद्यालय खुलाएकोे छ ।
तिला गाउँपालिकाले २९ असोजमा बसेको शिक्षा समितिको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड अनपाएर विद्यालय सञ्चालन गरिएको हो । विद्यार्थी भएका कक्षाको सेक्सन विभाजन गरेर सञ्चालनमा ल्याएका छौँ । कोरोना जोखिमबाट विद्यार्थीलाई बचाउन हाफटाइम नगर्ने, विद्यार्थीलाई एक–अर्काेबीच भिडभाड नगर्न दिने र मास्क अनिवार्य प्रयोग गरिएको छ ।’
पठनपाठन सञ्चालन गर्दा आधारभूत तहले नियमित रूपमा कक्षा सञ्चालन गर्ने निर्णय भएकोे, सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । उनका अनुसार माध्यमिक तहले विद्यार्थी संख्याका आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरी पठनपाठन सञ्चालन भएको छ ।
कक्षा सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्नेसमेत निर्णय भएको शिक्षा समितिले जनाएको छ ।
जुम्ला चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने तयारी छ । तर, प्रशासनले अनुमति दिएको छैन ।
जुम्ला हिमा गाउँपालिका– ४ का वडाध्यक्ष तथा शिक्षा समितिका सभापति मुनबहादुर बुढाका अनुसार कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले अनुमति नदिएपछि विद्यालय सञ्चालनमा आएका छैनन् । गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउने विषयमा प्रशासनलाई औपचारिक जानकारी छैन । स्थानीय तह र प्रशासनको यस विषय कुनै छलफल तथा समन्वय भएको छैन ।
हिमपातअघि सकियो वार्षिक परीक्षा
चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् ।
वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् ।
वडा नं ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ ।
अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र सुरु भएर कात्तिकमा सकिने गरेको छ ।
हुम्लामा पनि खुले विद्यालय
नाम्खा गाउँपालिकाका सबै विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु भएको छ । कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय खोल्ने निर्णय गरिएको हो । गाउँपालिकाकै वडा नं. ६ लिमीमा रहेका तीनवटा विद्यालय भने कोरोना कहरमा पनि बन्द भएका छैनन् ।
सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष तेमा तामाङले बताए ।
नाम्खामा १६ सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) छन् । तामाङका अनुसार सबै विद्यालयमा गरेर १ हजार ६० विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र विद्यार्थीको पढाइ पनि बिथोलिएकाले दसैं–तिहारको बीचमा पनि अध्ययन सुरु गरिएको उनले बताए । ‘कोरोनाको त्रासले पढाइ लथालिङ्ग भएको छ, त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ ।’
यालबाङस्थित महाबौद्ध माविका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाले स्वास्थ्यका सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको बताए । उनका अनुसार गाउँपालिका बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको पीसीआर परीक्षण गरिनेछ । उक्त आवासीय विद्यालयमा ३ सय २० जना विद्यार्थी अध्ययनरत छन् ।
कर्णालीका अन्य हिमाली क्षेत्रमा जस्तै नाम्खामा पनि फागुनदेखि शैक्षिक सत्र सुरु हुन्छ । अब शैक्षिक सत्र सकिन साढे ३ महिनामात्र बाँकी छ । यही अवस्थालाई मध्यनजर गर्दै सदरमुकाम सिमकोटस्थित मानसरोवर माविमा पनि कात्तिक १८ गतेदेखि पठनपाठन सुरु हुने भएको छ । सो विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ । प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालयमा सेनिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण पनि गरिने बताए ।