सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विकास निर्माणको अनुगमन गर्न हुम्ला पुगेका थिए । प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न शाही मुगु हुँदै हुम्ला पुगेका हुन् ।
सोही कार्यक्रम अन्र्तगत हुम्लाको सिमिकोट गाउँपालिका ३ को लिंटाङमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन घोडामा सवार मुख्यमन्त्री शाही लडेर घाइते भएका छन् । उनि लिमी भन्ने ठाउँमा घोडाबाट लडेर घाइते भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । यातायातका साधन सञ्चालनमा नआएकोले मुख्यमन्त्री शाही घोडामा सवार भएका थिए ।
मुख्यमन्त्री शाही घाइते भएपछि उनको उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत ल्याई उपचार गरिएको छ । ‘मुख्यमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । ठूलो चोटपटक छैन’ स्वास्थ्यकर्मीको भनाई उदृत गर्दै बुढाथोकीले दुल्लूखबरलाई जानकारी दिए ।
प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवं राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपत्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा सञ्चालित योजनाको अनुगमका लागि मुगु हुँदै हुम्ला पुगेका थिए ।