सुर्खेत । प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दैनिकजसो सवारी चाप बढिरहेको छ । जसको कारण बजारक्षेत्र साँघुरिदैं गएको छ । मानिसको आवत–जावत र अव्यवस्थित पार्किङ्गले झनै समस्या सिर्जना हुने गरेका छन् । यातायातका साधन जथाभावी पार्किङ्ग गर्ने र पैदल यात्रुले जथाभावी सडक क्रस गर्नेहुँदा सडक दुर्घटनाका जोखिम बढ्दै गएका छन् । वीरेन्द्रनगरमा दैनिक २५ हजार यातायातका साधन आवत–जावत हुने गरेकाे ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । निर्माणाधिन सडक समयमै नबन्दा धुवाँ–धुलाेले मानवीय असर परिरहेकाे छ ।
वीरेन्द्रनगरको मुख्य बजार र रत्नराजमार्गमा भएका जेब्राक्रसिङ्गको नामोनिसाना मेटिएका छन् । जेब्राक्रसिङ्ग निर्माण र सडक सुरक्षाका लागि सरोकारवालाको ध्यान पुगेको छैन । यद्यपी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रुपमा भर्खरमात्रै आएका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले पार्किङ्ग व्यवस्थित गर्ने बताएका छन् । पत्रकारहरुसँग भएको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘सडक सुरक्षा अभियान’ कार्यक्रम सञ्चालन भएपनि प्रभावकारि कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन् ।
‘सडक सुरक्षाको प्रमुख दायित्व राज्यको भएपनि यो कार्यमा नगरपालिका र प्रदेश सरकारले उदासिनता देखाएका छन् ।’ वीरेन्द्रनगरका स्थानीय वीरेन्द्र शाहीले भने, ‘सडक गुणस्तरीय र यात्रा सुरक्षित छ कि छैन ? पूर्वाधार अनुसार सडक निर्माण भएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने दायित्व राज्यको हुन्छ । तर, सडकको लम्बाई हेरेर मात्र विकासको मापन गर्ने पद्धति र सरकारको सोचमा परिवर्तन हुनुपर्ने देखिन्छ ।’
कालोपत्रे गरिएका सडकमा ठाउँ–ठाउँमा खाल्डो बनेका छन् । मुख्य सडक (रत्नराजमार्ग) का विभिन्न ठाउँमा निर्माणाधीन पुलको काम ढिलाई हुँदा धुवा–धुलो पैदल यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
एकातिर सवारी साधनहरु नियमविपरीत सञ्चालन भएका छन् । राजधानीको मुख्य सडकमा नै जेब्राक्रसिङ्ग नबनाईँदा दुर्घटनाको जोखिम बढेको यात्रुहरुले बताउने गरेका छन् ।
‘सडकमा नत ‘सडक सुरक्षा सम्बन्धी’ जनचेतनामुलक सन्देश दिने होडिङ् बोर्डहरुको व्यवस्था नै छ । जेब्राक्रसिङ्ग सडकमा अतिनै आवाश्यक भएपनि त्यो बनाउने काम हुन सकेको छैन् ।’ एक स्थानीय रमेश अचार्यले भने, ‘भएका ठाउँहरुमा पनि जेब्राक्रसिङ् मेटिदै गएका छन् । जसका कारण यात्रुहरु जथाभावि रुपमा बाटो काट्न बाध्य छन् ।’
मुख्य सडक रत्नराजमार्गमा विगतमा भएको अलिकति जेब्राक्रस मेटिएका, जथभावि पार्किङ्ग गरिएका सवारीसाधन, जेब्राक्रसको कुनै वास्था नगरी जभाभावी बाटो काट्ने गर्दा सडकको सुरक्षालाई प्रभावकारी कार्यान्वयन गर्न नसकिएको ट्राफिक प्रहरीको गुनासो छ ।
जिल्ला ट्राफिक कार्यालययका प्रहरी सहायक निरिक्षक हरिभक्त रोकाय भन्छन्– ‘हामी नियमन निकाय हो । यहाँ व्यवस्थापन भए हामी नियमन गर्न पछि हट्दैनौं ।’
उनका अनुसार वीरेन्द्रनगरमा गत बर्षको तुलनामा यो बर्ष ५ प्रतिशतका दरले सवारी साधनको सँख्या वृद्धी भएको छ । दैनिक २५ हजार बराबर सवारीसाधनहरु ओहोर–दोहोर गर्ने गर्दछन् ।
वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षाका लागि केही बजेट व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
नगरपालिका र अन्य निकायसँगको समन्वयमा तिहार सकिए लगत्तै सडक सुरक्षाका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरीने अधिकृत ढकालले बताए ।
उनका अनुसार सडक, सवारीको व्यवस्थापन, छाडा पशुचौपायाको व्यवस्थापनका लागि नगरपालिकाबाट १५ लाख बजेट व्यवस्थापन गरिएको छ ।
विशेषगरी खजुरा चोक देखि–बसपार्क आसपास क्षेत्रमा जथभावी रुपमा सवारी–साधनहरु सडकमा राख्ने गरेका पाईएको छ । धुलाईयाबेट देखि बाँङ्गेशिमल (रत्नराजमार्ग) सम्मको सडकका एकदुई ठाउँमा बनाईएको जेब्राक्रसिङ्ग अहिले मेटिएको अबस्था छ ।
सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार चालु आवमा जेब्राक्रसिङ्ग गर्ने योजना भएपनि बजेटको अभाव भएको जनाइएको छ । कार्यालयका सुचना अधिकारी सजना पोखरेलले विभिन्न ठाउँमा भएका खाल्डाखुल्डी पुर्ने काम सकिएपछि जेब्राक्रसिङ्ग निर्माण गरिने बताए ।
कागजमै सीमित हर्न निषेधित क्षेत्र
सडक सुरक्षा अभियान अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र ट्राफिकले संयुक्त रुपमा वीरेन्द्रनगर बजार क्षेत्रलाई ‘हर्न’ निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर, घोषणा कागजमै सिमित भएको छ ।
‘हर्न निषेध गर्ने कार्य किन फितलो ? भन्ने प्रश्नमा ढकाल भन्छन् –‘हर्न’ निषेधित भनेका छौं तर चालकले बजाईदिन्छन् के गर्नु र …!
मंसिर १ गते देखि सिटी बसपार्क सञ्चालन हुने
वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको बसपार्क मंसिर एक गतेदेखि सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भईसक्दा पनि लामोसमयसम्म सञ्चालन नभएको उक्त बसपार्क अब संचालन हुने भएको हो ।
मंसिर १ गतेदेखिनै बसपार्क सञ्चालनको लागि तयारी भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
‘ठेकेदार कम्पनीसँग सबै प्रक्रियाहरु सम्झौता गरेर अघि बढाईसकेका छौं’ प्रमुख प्रशासकीय अधिकृत टिकाराम आचार्यले भने, ‘मंसिर १ गतेदेखि सञ्चालन हुन्छ ।’
निगारानी बढाउन सिसिटिभी जडान
मंगलबार मात्रै वीरेन्द्रनगर नगरपालिकाले विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै वीरेन्द्रनगरभित्र ८९ ओटा सिसिटिभी थप जडान गरेको छ ।
यसअघि २७ वटा सिसिटिभी क्यामरा रहेकोमा केही बिग्रिएका र केही सकुसल रहेकोमा थप ८९ वटा नयाँ जडानसँगै पुरानोलाई मर्मत समेत गर्ने काम थालिएको छ ।
सडकमा तिव्रगतिमा सवारी हाक्ने तथा मनमानी गर्नेहरुका लागि अबको निगरानी सीसीटिभी क्यामराले गर्ने छ ।
वीरेन्द्रनगरका विभिन्न स्थानमा जडान गरिएका सीसीटिभी क्यामराहरुको निगरानी कन्ट्रोल जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।
गत आर्थिक वर्षमा नगरपालिकाको बजार क्षेत्रमा सीसीटिभि क्यामरा जडान गर्न ४० लाख र कर्णाली प्रदेश सरकारले ६९ लाख बजेट विनियोजन गरेको थियो । नगरका उपत्यकाभित्र पर्ने १३ वटै वडामा फाइबर तारसहित सीसीटिभी क्यामरा जडानमा बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।