सुर्खेत । हरेक दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको साक्षरता दर ५९ दशमलव २ प्रतिशत मात्र छ । ‘यो प्रदेशको शिक्षा निर्देशनालयले दिएको तथ्याङ्क हो ।’ सरकारले साक्षरता नेपालको लक्ष्य सहित साक्षरता अभियान नै सञ्चालन गरे पनि कर्णालीको साक्षरता दर अझै पनि न्यनु छ । नेपाल सरकारले २०७२ मै साक्षरता नेपालको लक्ष्य लिएर साक्षरता अभियाननै सञ्चालन गरेको थियो ।
नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/०७५ अनुसार कर्णालीमा काम गर्ने उमेर समुह अथवा १५–६० बर्ष उमेर समुहका नागरिकको जम्मा संख्या ११ लाख ६३ हजार आंकलन गरिएको छ । ‘सो उमेर समुहको जम्मा संख्या मध्ये ४० दशमलव ८ प्रतिशत नागरिकहरु अझै निरक्षर रहेको निर्देशनालयका निर्देशक दिपा हमालले बताईन् ।
उनका अनुसार साविकका कर्णालीका पाँच जिल्ला साक्षर घोषणा भैईसकेका छैनन् । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर जिल्ला घोषणा भएका जिल्लाहरुमा पनि पूर्णरुपमा साक्षर हुन नसकेको सरोकारवाला बताउँछन् ।
कागजका घोषणा भनिएपनि सरकारले चलाएका अधिकाँश अभियानहरु प्रभावकारी नबन्दा सबै नागरिकहरु साक्षर हुन नसकेको शिक्षाविदहरुकाे भनाइ छ ।
‘आंकलन गर्दा हुम्ला र डोल्पा जिल्लामा निरक्षर हुनेको दर अत्यधिक छ । ‘२०६८’ को साक्षरता कार्यक्रमले सघन रुपमा सबै जिल्लाका वडा–वडामा कार्यक्रम लागु गरेको हो । तर, पनि सबै नागरिकहरु पुर्ण रुपमा साक्षर हुन सकेका छैनन्’ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता समेत रहेका शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले भने ।
चालु आर्थिक बर्ष भित्रै कर्णाली प्रदेशलाई ‘साक्षर कर्णाली घोषणा’ कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रम छ । तर, अहिलेसम्म कुनै कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । ‘कारण हो , कोभिड–१९ कोरोना भाईरस । प्रवक्ता अधिकारीले साक्षर अघोषित जिल्लामा अभियान अन्तर्गत प्रमाण पत्र दिने, सम्मान गर्ने लगाएतका कार्यक्रम गर्ने योजना रहेको बताए । यद्यपी, त्यो अबस्था कोरोनाका कारण टरेको छ ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमाल भन्छिन– ‘संघको पनि नेपाललाई नै साक्षर बनाउने कार्यक्रम राखेको छ । प्रदेशले पनि निरन्तरता दिने कार्यक्रम त राखेको छ, तर, कार्यक्रम गर्न सक्ने अबस्था कोरोनाले प्रभावित पारिदिएको छ ।’
के हो साक्षरता ?
– १९ औँ शताब्दीमा साक्षरतालाई अक्षर पढ्ने र लेख्ने क्षमता सँग जोडिन्थ्यो । २० औ शताब्दीमा आउँदा अंक र अक्षरसँग मात्र नभई विभिन्न विधामा जोडिन थाल्यो । सामान्यतया साक्षरता भनेको अक्षर वा लिपी चिन्नु, लेखपढ गर्न जान्नु, गणनाका कार्य गर्न सक्नु भन्ने हुन्छ । हिजो–आज साक्षरता पढाई, लेखाई र गणितमा मात्र सीमित नगरी यसका अधिकार, दायित्वसँग पनि जोडेर हेरिन्छ ।
सन १९९८ मा युनेस्कोले साक्षरतालाई लेखाइ पढाई र गणितसँग सम्बन्धित गरी पढन, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोडघटाऊ गर्न सक्ने परिभाषित गरेको पाइन्छ । सन १९५६ बाट नेपालमा साक्षरता शिक्षा प्रारम्भ भएको हो । प्रत्येक व्यक्तिले आफ्नो मातृभाषा वा राष्ट्रभाषामा पढ्न, लेख्न वा अंकहरु र दैनिक जीवनमा प्रयोग हुने सामान्य हरहिसाव, कार्यमूलक विषय र दैनिक जीवनसँग सम्बन्धित साना वाक्यहरु बुझेर लेखपढ गर्न सक्ने, बुझेका कुरा एकआपसमा राम्ररी सम्प्रेषण गर्न सक्ने तथा साधार हर हिंसा वगर्न सक्ने सम्झिनु पर्छ ।