सुर्खेत । मुगुको कालै पठाउनुपर्नेमा भक्तपुर पठाउन लागेको आशंकामा बरामद चामलका मालिक वासुदेव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाएको छ ।
एसपी राजेन्द्र भट्टले कानुन व्यवसायीसँगको परामर्शमा शर्मा र उनका दुईवटा व्यापारिक फर्म दुर्गा भवानी इन्टरप्राइजेज र शर्मा ढुवानी सेवाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को ठगीसम्बन्धी महल ३ (क) बमोजिम मुद्दा चलाउने गरी अनुसन्धान गरे पनि शर्माले गरेको अपराधमा कालोबजारी ऐन बलियो हुने भएको एसपी भट्टले बताए । उक्त महलमा ‘भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ । कालोबजार ऐनअन्तर्गतको मुद्दा प्रमुख जिल्ला अधिकारी र ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतले हेर्ने व्यवस्था रहेको छ । प्रहरीले शर्माको व्यावसायिक फर्ममा कार्यरत ६ जनाको बयान लिए पनि उनी फरार रहेको बताएको छ । आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शर्माले ढुवानी गर्न लागेको चामल आफ्नो गोदाममा रहेको जापानी चामलसँग मिल्दो रहेको रिपोर्ट दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको एसपी भट्टले जानकारी दिए । समाचार कान्तिपुरमा प्रकाशित छ ।
कम्पनीका ढुवानीकर्ता रहेका शर्माले दुर्गा भगवती इन्टरप्राइजेजमार्फत २ सय ५० क्विन्टल चामल बिहीबार भक्तपुर पठाउन लागेका थिए । प्रहरीले सुब्बाकुनाबाट चामल लोड गरिएको ट्रक नियन्त्रणमा लिएको थियो ।