सुर्खेत । कृषि विकास कार्यालय दैलेखले फजूल खर्च कटाएर खाद्यन्न वितरण गरेको छ । दैलेखमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाइने अर्न्तराष्ट्रिय विश्व खाद्य दिवस यस वर्ष खाद्यन्न वितरण गरी मनाइएको हो ।
यसभन्दा अघिल्ला वर्षहरुमा प्रभातफेरी कार्यक्रम, खाद्यसँग सम्बन्धित विषयमा अन्तरक्रिया, निवन्ध, कविता प्रतियोगिताको आयोजना गरिदैं आएकोमा ४० औं अन्र्तराष्ट्रिय खाद्य दिवसको अवसरमा खाद्यन्न वितरण गरिएको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।
‘कोरोनाको कारणले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष त्यस्ता कार्यक्रम आयोजना भएन’ उनले भने, ‘कार्यक्रमको अन्य फजूल खर्च कटौती गर्दै खाद्य असुरक्षित क्षेत्रको पहिचान गरी खाद्यन्न वितरण गरिएको हो ।’
जिल्लाको पवित्र धार्मिकस्थल नाभिस्थानमा सञ्चालित पञ्चकोशी वेद विद्याश्रमलाई खाद्य असुरक्षित भएको संकेत गर्दै थप सहयोग प्रदान होस् भनी उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख पाण्डेको भनाई छ ।
गाउँबाट मानो उठाएर खाद्यन्न जोहो गर्दै आएका उनिहरुलाई कार्यालयद्वारा १० बोरा चामल, २० किलो दाल, दुई पेटी तेल, पाँच प्याकेट नुन, केही फलफूल र त्यहाँ अध्ययन्रत २५ जना वटुक (विद्यार्थी)का लागि पहिरन (कपडा) वितरण गरिएको प्रमुख पाण्डेले जनाए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारी लगायतका व्यक्तिहरुको आथित्यतामा खाद्यन्न सामग्री वितरण कार्यक्रम गरिएको हो ।
कार्यक्रम कृषि विकास कार्यालय दैलेखको आयोजनामा दुल्लू नगरपालिका, नारायण नगरपालिका र भैरवी गाउँपालिकाको सह–आयोजनामा सम्पन्न गरिएको थियो ।
नगरपालिकाद्वारा आलुको वीउ वितरण
दिवसका अवसरमा दुल्लु नगरपालिकाले वडा नम्बर ९ स्थित प्यादुरा गाउँमा १५ क्विन्टल आलुको वीउ वितरण गरेको छ । सामुहिक खेतीमाफर्त उत्पादन बढाउन वीउ वितरण गरिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) उत्थान परियोजना र कालतबस्ती दलित कृषि तथा पशुपालन सहकारीको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको नगरपालिकाका कृषि शाखाका राजन कुमार बिस्टले जानकारी दिए ।